बट्टारको हावाघरमा आइतबारे कृषि हाट बजार केन्द्र सञ्चालनमा

बैशाख ९, २०८३ मा प्रकाशित | 52 views


नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आइतबार सञ्चालन हुने गरेर वडा नं ४ स्थित हावाघरमा आजदेखि कृषि हाट बजार केन्द्र सञ्चालनमा ल्याएको छ ।

हावाघर स्थित उद्यानमा सञ्चालन सुरु गरिएको हाट बजारको आज बुधबार आयोजित एक समारोहको बीच नगरप्रमुख राजन श्रेष्ठले उद्घाटन गर्नुभयो ।

विदुर नगरपालिकाले पछिल्लो छ महिनादेखि वडा नं ९ स्थित कोलनीमा शनिबार सञ्चालन गर्दै आएको हाट बजारको प्रभावकारिता र आकर्षण बृद्धि भएसगैँ किसानले उत्पादन गरेका सामाग्रि सिधैँ उपभोक्ता समक्ष पु-याउनको लागी वडा नं ४ स्थित हावाघरमा हाटबजार विस्तार गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार हावाघरमा सञ्चालनमा ल्याइएको हाटबजार बुधबार सञ्चालनको योजना बनाएको भएपनि आमउपभोक्ता वर्गबाट गरिएको माग अनुसार आइतबार बिहान सञ्चालन गर्ने निर्णय भएको छ । आज बुधबार उद्घाटन भएको हाट बजार प्रत्येक साताको आइतबारका दिन बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म चल्ने उहाँले जानकारी दिनुभयो ।

किसानले उत्पादन गरेका कृषि उपज सामाग्रिहरुलाई लगानी अनुसारको उचित मुल्य सहित सहज रुपमा बिक्री गर्न, बिचौलियाको अन्त्य गर्न र उपभोक्तालाई सहुलियत शुल्कमा किसान एंव उद्यमीले उत्पादन गरेका सामाग्रि उपलब्ध गराउने उद्देष्यले हावाघरमा साप्ताहिक रुपमा सञ्चालन गर्ने गरेर कृषि हाट बजार केन्द्र सञ्चालनमा ल्याएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

हाट बजारमा जिल्लाको विभिन्न स्थानका किसानले उत्पादन गरेका कृषि उपज सामाग्रिहरु, हस्तकलाबाट बनेका सामाग्रिहरु, घरेलु उत्पादनका रुपमा रहेका उत्पादनहरु बिक्रीको लागी राखिएकाले बट्टार सहित बजार क्षेत्रका उपभोक्ताको ध्यान तानेको थियो ।

उद्घाटन समारोहमा नगर उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, आर्थिक विकास समितिका संयोजक एंव वडा नं ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, हाट बजार सञ्चालन सम्बन्धि संयोजक श्रीकृष्ण रिजाल, किसानहरु रामचन्द्र अवस्थी, मेघराज तामाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

हाटबजार उद्घाटन समारोहको अवसरमा आयोजित गतिविधि सहित विक्रीको लागी राखिएका सामाग्रिहरुको आकर्षकहरु तस्बिरमाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web