सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको कडा निर्देशन

बैशाख ६, २०८३ मा प्रकाशित | 21 views


नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले कर्मचारीले जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गर्नुभएको छ ।

जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवा प्रति गर्व गर्न लायक काम गर्न मन्त्री तिमिल्सिनाले यहाँको कर्मचारीहरुलाई स्मरण गराउनुभयो । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आज आयोजित जिल्लाका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिसंगको छलफलमा उहाँले सेवा प्रवाहमा ढिलाइ, गैह्रजिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पार्नुभयो ।

राजनीतिक परिवर्तनको मर्म बुझ्न आग्रह गर्दै नयाँ सरकार किन बनेको हो भन्नेबारे सबैले आत्मसमीक्षा गर्र्नुपर्ने भन्दै सरकारी सेवामा सुधार गरेर जनतालाई सहज रुपमा सुशासन दिनको लागी कर्मचारीतन्त्र लाग्नुपर्ने उहाँले बताउनुभयो ।
“समस्या देखाउन सजिलो हुन्छ । तर, अब हामीले आफैतिर औंला उठाउनुपर्छ । हामीले काम गर्ने भनेको राजनीतिक लाभका लागि नभई देशको सेवाका लागि हो ।” मन्त्री तिमिल्सिनाले भन्नुभयो ।

अहिलेको सरकार पारदर्शिता र जवाफदेहिताको जगमा बनेको उल्लेख गर्दैँ उहाँले हरेक नागरिक उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । “कसैलाई पनि गैह्रजिम्मेवार हुने छुट छैन । आफुलाई सुम्पिएको काम कि त जिम्मेवार भएर पूरा गर्नुपर्छ अन्यथा मार्ग प्रशस्त गर्नुपर्छ,” मन्त्री तिमिल्सिनाले चेतावनी दिनुभयो । जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई जवाफदेही बनाइने पनि उहाँले स्पष्ट पार्नुभयो ।

शासन सञ्चालन र सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिँदै सरकारी कार्यालयले जनतालाई सेवा दिन बसेको हो भन्ने अनुभूति दिलाउनुपर्ने उहाँको सुझाब छ । “जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प छैन” अब सबैले काम गर्नुपर्ने समय आएको छ । विगतको तुलनामा आफूलाई सन्तुष्ट हुने गरेर काम गर्न लाग्नुहोस् ।” उहाँले भन्नुभयो ।

सूचनाको मूल्यांकन सन्तुलित ढंगले गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि सूचना एकांकी रूपमा नलिन र भेदभावपूर्ण व्यवहार नगरी खुला रुपमा सेवाग्राहीको काममा खटिन कर्मचारीलाई उहाँले सुझाव दिनुभयो ।

छलफलका क्रममा कार्यक्रममा नुवाकोट–१ बाट निर्वाचित सांसद डा.अच्युतम लामिछानेले सेवाग्राहीलाई छिट्टो, छरितो, सहज र झन्झटमुक्त बनाउन, सञ्चार र हुलाक सेवाको विश्वनीयता बृद्धि गराउन, विपद् व्यवस्थापनलाई प्राथमिकता दिन, अस्पतालमा जनशक्ति र उपकरण अभावका समस्या समाधानमा लाग्न कार्यालय प्रमुखले जोड दिनुभयो । त्यसका लागी आवश्यक समस्या र चुनौती भएमा समाधानको लागी संसद् र सरकार सदैव तयार रहेको सांसद् लामिछानेको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो । छलफलका क्रममा जिल्लाको विकास आयोजनाको अवस्थाको समम्बन्धमा पनि मन्त्री र सांसद्ले जानकारी लिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web