
नुवाकोट । तामाङ प्लाजा नुवाकोटको आयोजनामा नुवाकोट रसुवा र धादिङका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘अन्तर–जिल्लास्तरीय चित्रकला प्रतियोगिता तथा चित्रकला मेला–२०८२’ सञ्चालन गर्न लागिएको छ ।
आगामी फागुन २ गते आयोजना गरिएको प्रतियोगितामा कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै दुई समूह बनाई चित्रकला प्रतिस्पर्धा गराउन लागिएको आयोजक तामाङ प्लाजा एग्रो रिसोर्टका व्यवस्थापक सुशन केसीले जानकारी दिनुभयो ।
उहाँको अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले माता-पिता प्रेम र गुरुको आदर, वातावरण संरक्षण वा मेरो विद्यालय शीर्षक मध्ये कुनै एक विषयमा चित्रकला तयार गर्नुपर्नेछ ।
यस्तै, कक्षा ६ देखि १० सम्मका विद्यार्थीले जलवायु परिवर्तन, संस्कृति तथा पर्यटन वा आफ्नो जिल्लाको पहिचान शीर्षक मध्ये कुनै एक शिर्षकमा केन्द्रित भएर चित्रकला तयार गर्न पाइने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद रुपैयाँ सहितको आकर्षक पुरस्कार राखिएको छ । कक्षा १ देखि ५ सम्मको समूहतर्फ प्रथम हुने विद्यार्थीले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पाउने छ ।
यस्तै, कक्षा ६ देखि १० सम्मको समूहतर्फ प्रथम हुने विद्यार्थीले ३० हजार, दोश्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने सहित सहभागी सबै विद्यार्थीले प्रमाणपत्र सहित तामाङ प्लाजामा सञ्चालित ‘नुवाकोट थ्री डी आर्ट म्युजियम’को भ्रमण सहित खाजाको समेत प्रबन्ध मिलाइएको छ । प्रतियोगितामा सहभागि हुन माघ २९ गतेसम्म नामदर्ता गराइसक्नुपर्ने भनिएको छ ।
दर्ता शुल्क पाचसय रुपैयाँ तोकिएको छ । प्रतियोगिता फागुन २ गते शनिबार तामाङ प्लाजा एग्रो रिसोर्ट बट्टारमा बिहान १० बजेदेखि हुनेछ भने विद्यार्थीले ह्वाट्सअप नं 9849-38-15-79 मा अथवा tamangplaza2021@gmail.com मा इमेल मार्फत नाम दर्ता गराउन एंव थप जानकारी लिन सक्ने व्यवस्था मिलाइएको आयोजक तामाङ प्लाजाका व्यवस्थापक सुशन केसीले जानकारी दिनुभयो ।
उहाँको अनुसार नुवाकोटमा पहिलो पटक आयोजना गरिएको चित्रकला प्रतियोगिता मार्फत विद्यार्थीहरूमा निहित सृजनशीलता, कल्पनाशक्ति तथा कलात्मक प्रतिभाको विकास र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
आर्टशाला नेपालसंगको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगिताको अवसरमा फेस पेन्टिङ, स्टोन आर्ट, लाइभ आर्ट, पोटरी, प्रिन्ट मेकिङ, जिप्स क्यास्ट, स्केच लगायतका चित्रमेला पनि आयोजना गरिएको हुदाँ कलाप्रेमीहरुलाई अवलोकनको लागी अनुरोध गरिएको छ ।
17.12¡ÆC