तारकेश्वरका अध्यक्ष अधिकारीद्वारा श्रीकृष्ण माविमा सभाहल, सरस्वती मन्दिर निर्माण र शैक्षिक सुधारका लागी ८ लाख भन्दाबढीको सहयोग घोषणा

कार्तिक २७, २०८२ मा प्रकाशित | 241 views


नुवाकोट । तारकेश्वर गाउँपालिका–२, तारुकास्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा बिहीबार ‘गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी हुँदै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुदृढीकरणका लागि रु. ८ लाख १० हजार बराबरको सहयोग र पुरस्कार घोषणा गर्नुभयो ।

अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रु. १ लाख, शैक्षिक भ्रमणका लागि रु. १ लाख ५० हजार, सरस्वती मन्दिर निर्माण तथा मूर्ति स्थापनाका लागि रु. १ लाख ८० हजार, सभाहल निर्माणका लागि रु. २ लाख ५० हजार र वार्षिकोत्सव कार्यक्रमका लागि रु. १ लाख सहयोग गर्ने घोषणा गर्नुभयो ।

साथै, विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप विभिन्न विधामा उत्कृष्ट ठहरिएका ६ जना (३ छात्रा र ३ छात्र) लाई रु. ५/५ हजारका दरले कुल रु. ३० हजारको ‘गाउँपालिका अध्यक्ष पुरस्कार’ प्रदान गर्नुभयो ।

सोही अवसरमा अध्यक्ष अधिकारीले आगामी आर्थिक वर्षको बजेटबाट विद्यालयमा ‘डिजिटल लर्निङ’ कार्यक्रम सुरु गर्ने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले विद्यालयको भौतिक आवश्यकता पूरा गर्न गाउँपालिकाले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

विद्यालयका कमजोरी र गुनासोबारे गाउँपालिकालाई जानकारी गराउन अभिभावकहरूलाई आग्रह गर्दै अध्यक्ष अधिकारीले बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालयसँगै घरपरिवारले पनि समय र ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच संवाद र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले तीन वर्षदेखि ‘गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web