ज्येष्ठ नागरिकहरुको निःशुल्क दृष्टि जाँच र औषधि वितरण

अशोज २३, २०८२ मा प्रकाशित | 856 views


नुवाकोट । जिल्ला सामुदायिक आँखा केन्द्र र तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोट एंव नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको सहजिकरणमा विदुर नगरपालिका–५ देवीघाट स्थित ज्येष्ठ नागरिक सेवा आश्रमका आश्रित ज्येष्ठ नागरिकहरुको दृष्टि जाँच गरिएको छ ।

विश्व दृष्टि दिवस–२०२५ को अवसर बनाई सामुदायिक आँखा केन्द्रका इञ्चार्ज ताराबहादुर वाइवा सहितको प्राविधिक टोलीबाट जेष्ठ नागरिक सेवा आश्रम देवीघाटमा आश्रित ४० जना जेष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच सहित मोतियाबिन्दुको पहिचान, आवश्यक औषधि वितरण समेत गरिएको हो ।

दृष्टि जाँच गर्ने क्रममा केही जेष्ठ नागरिकमा मोतियाबिन्दु भएको देखिएकाले उहाँहरुको आगामी दिनमा निःशुल्क शल्यक्रिया गरिने रेडक्रस नुवाकोटका सभापति हरी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्दै सभापति श्रेष्ठले जेष्ठ नागरिकलाई लक्षित गर्दै आगामी दिनमा देवीघाट निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्ने र सोही क्रममा आश्रमका जेष्ठ नागरिकको शल्यक्रिया हुने जानकारी दिनुभएको हो ।

उक्त अवसरमा रेडक्रस नुवाकोटका मन्त्री उद्धव शर्मा रिजालले रेडक्रस नुवाकोट शाखासंगको सहकार्यमा सञ्चालनमा रहेको जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटले दिदै आएको सेवा प्रभावकारी र सहुलियत रहेकाले विशेष गरेर ग्रामीण क्षेत्रका बासिन्दाको लागी लाभदायक बनेको बताउनुभयो ।

आगामी दिनमा आँखा जाँचको लागी थप अत्याधुनिक उपकरण भित्र्याई शिघ्र सेवा एवम् गुणस्तरीय बनाउन लागिएको उहाँको भनाई छ ।

हरेक वर्ष अक्टुबर महिनाको दोश्रो बिहीबारका दिन विश्व दृष्टि दिवस मनाइने गरिएको छ । सोही अवसर बनाई आयोजित कार्यक्रममा सामुदायिक आँखा केन्द्र इञ्चार्ज ताराबहादुर वाइवाले केन्द्रको स्थापना पश्चात दिदै आएको सेवा सम्बन्धि विस्तृत विवरण समावेश गरिएको तथ्याङ्कको प्रस्तुतीकरण मार्फत जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web