
नुवाकोट । त्रिशूली अस्पतालमा आजदेखि नाक, कान र घाँटी (ENT) सम्बन्धी नियमित ओपिडी सेवा सुरु गरिएको छ। यसअघि पाक्षिक रूपमा मात्र सञ्चालन हुँदै आएको सेवा अबदेखि दैनिक रूपमा उपलब्ध हुने भएको छ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले आजदेखि सुरु गरिएको सेवा निरन्तर रूपमा सञ्चालन हुने जानकारी दिनुभयो। “विगतमा यो सेवा केही समयका लागि रोकिएको थियो,” उहाँले भन्नुभयो, “अब भने नियमित रूपमा दैनिक सेवा प्रवाह हुनेछ।”
यो सेवा बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको हो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका आवासीय विशेषज्ञ चिकित्सकमार्फत नाक, कान, घाँटी सम्बन्धी ओपिडी सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिनुभयो।
“नुवाकोट मात्र होइन, रसुवा, धादिङलगायतका जिल्ला तथा आसपासका क्षेत्रका बिरामीहरूले पनि यो सेवा सहज रूपमा लिन सक्नेछन्,” निर्देशक डा. लामाले बताउनुभयो।
नयाँ सुरु गरिएको नियमित ENT सेवा मार्फत सर्वसाधारणले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ
26.12¡ÆC