अनियमितताको आरोप लगाउने सामाजिक अभियन्ता आशिका तामाङले माफी माग्दै पोष्ट हटाइन्

साउन ८, २०८२ मा प्रकाशित | 726 views


नुवाकोट । सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन नजिक निर्माण गरिएको पर्खाल (वाल)मा अनियमितता भएको भन्दै सामाजिक अभियन्ता आशिका तामाङले सार्वजनिक रूपमा लगाएको आरोप गलत रहेको स्वीकार गर्दै सार्वजनिक माफी मागेकी छन्।

केही दिन अघि तामाङले सामाजिक सञ्जालमार्फत उक्त पर्खाल निर्माणको विषयमा भिडियो पोष्ट गर्दै अनियमितताको आशंका व्यक्त गरेकी थिइन्। उक्त पोष्टले स्थानीय तहमा चासो र विवाद निम्त्याएको थियो।

पर्खाल निर्माण सम्बन्धी आरोपलाई लिएर गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले तत्कालै प्रतिक्रिया दिँदै कुनै अनियमितता नभएको स्पष्ट पार्दै पर्खाल निर्माण लागत विवरण समेत सार्वजनिक गरेका थिए।

      •  भ्रमपूर्ण पोष्ट हटाइन्: अभियन्ता आशिका तामाङले सूर्यगढी गाउँपालिकाको पर्खाल निर्माणमा अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियो माफी माग्दै हटाइन्।
      • अध्यक्षको स्पष्टिकरण: गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले तत्काल लागत विवरण सार्वजनिक गर्दै कुनै अनियमितता नभएको स्पष्ट पारेका थिए।
      • गल्ती स्वीकार: काठमाडौँमा अध्यक्षसँगको भेटपछि तामाङले गलत सूचना पाएर पोष्ट गरेको भन्दै गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागिन् ।

पछिल्लो जानकारी अनुसार, काठमाडौँ पुगेपछि आशिका तामाङले अध्यक्ष घलेलाई फोनमार्फत गल्ती भएको स्वीकार गर्दै भेटमा सबै कुरा स्पष्ट गर्ने आश्वासन दिएकी थिइन्। आज अध्यक्षसँगको भेटमा उनले आफूले गलत सूचना पाएर भिडियो बनाएको र त्यसलाई गल्ती मानेर सामाजिक सञ्जालबाट हटाएको बताएकी छिन्।

यो घटनाले सामाजिक सञ्जालमा सस्तो लोकप्रियताको खोजीमा बिना अनुसन्धान तथ्य सार्वजनिक गर्ने प्रवृत्तिप्रति प्रश्न उठाएको छ। यथार्थ नबुझी गरिएको प्रचारको नकारात्मक असर समाजमा पर्ने भएकाले, जिम्मेवार व्यवहार र छानबिनपछि मात्रै धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web