
नुवाकोट । विदुर नगरपालिकामा रहेका समुदायिक तथा छाडा छाडिएका कुकुरलाई बन्ध्याकरण सहित उनीहरुलाई रेबिज रोग बिरुद्धको खोप लगाइएको छ।
विदुर नगरपालिका, पशु सेवा शाखाको आयोजनामा गत जेठ २७ गतेदेखि सुरु गरेर यही असार १ गतेसम्म चलेको कार्यक्रम अन्तरगत पालिकाको विभिन्न स्थानबाट समातिएका ११५ वटा कुकुरलाई स्थायी बन्ध्याकरण गरिएको छ ।
ती कुकुरहरुलाई रेबिज रोग विरुद्धको खोप समेत लगाइएको पशु चिकित्सक डा. सुजता अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार बन्ध्याकरण पश्चात उनीहरुलाई केही दिन निगरानीमा राखेर स्वस्थ्य अबस्थामा फर्किएपछि रेबिज रोग विरुद्धको खोप लगाएर जहाँबाट समातिएको हो सोही स्थानमा नै लगेर छाडिएको छ ।
बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनको सम्बन्धमा कार्यक्रमको समापनको दिन आइतबार नगरप्रमुख राजन श्रेष्ठले प्रगतिको सम्बन्धमा जानकारी लिदै आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
विदुर नगरपालिकाले ‘नेपाल एनिमल वेलफेएर एण्ड रिसर्च सेन्टर’संगको प्राविधिक सहयोगमा सञ्चालन गरेको यस कार्यक्रम अन्तरगत अझै धेरै कुकुरहरु बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप कार्यक्रमको दायरामा पर्न बाँकी देखिएकाले नगरप्रमुख श्रेष्ठले आगामी दिनमा कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यो वर्ष बिनियोजित ३ लाख बजेटबाट ११२ वटा कुकुरलाई बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप लगाउने कार्यक्रम भएपनि ११५ वटा कुकुरलाई बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप लगाइएको छ । यस्तै, केही कुकुर घाइते अबस्थामा भेट्टिएकाले उनीहरुको उपचार समेत गरिएको छ ।
बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप कार्यक्रमको लागी समाउने क्रममा खुट्टा भाचिएका, शरिरमा घाउचोट लागेका कुकुरहरु समेत देखिएकाले उनीहरुको उपचार गरिएको हो ।
यस्तै, केही घरपालुवा कुकुरलाई समेत बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप लगाउन घरधनीबाट आग्रह भएकाले उनीहरुलाई पनि आगामी कार्यक्रममा समावेश गर्ने लक्ष्य लिइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले हरेक वर्ष नियमित रुपमा बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै कुकुरको सङ्ख्या बृद्धि हुन नदिने, उनीहरुलाई रेबिज रोगबाट सुरक्षित बनाउने उपाय अपनाउनदै आएको छ ।
यसको कारण कुकुरबाट समुदायमा पुग्ने असरहरु सडक दुर्घटना, कुकुरको टोकाई र रेबिज रोगको जोखिम न्यूनिकरण, कुकुरमा अनुशासनको पालना, पालनपोषणमा पनि सहजता मिलेको महशुस भएको छ ।
21.12¡ÆC