डेङ्गी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह

बैशाख २६, २०८२ मा प्रकाशित | 367 views


काठमाडौँ । डेङ्गी सङ्क्रमणको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले अहिले परेको पानी जम्मा भएको क्षेत्रमा डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।’

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ । शाखा प्रमुख डा. दाहालले गएको वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ वटा पालिकामा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताउनुभयो ।

उहाँका अनुसार पुस १७ यता नौ सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार आठ सय ६५ सङ्क्रमित र १५ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web