देवीघाट र गेर्खुटारमा क्षयरोग सम्बन्धि निःशुल्क एआई एक्सरे शिविर सम्पन्न

चैत्र ८, २०८१ मा प्रकाशित | 423 views


त्रिशूली । विदुर नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको क्षयरोग सम्बन्धि निःशुल्क एआई एक्सरे शिविर सम्पन्न भएको छ । यही चैत ७ गते विदुर नगरपालिका वडा नं. ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन र ८ गते वडा नं. १० स्थित शहरी स्वास्थ्य केन्द्र, गेर्खुटारमा शिविर सम्पन्न भएको हो ।

शिविरमा विदुर नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल सहित सम्बन्धित वडाको वडाध्यक्षहरु देवीघाटमा आयोजित शिविरमा ५ नं अध्यक्ष लिलानाथ न्यौपाने, गेर्खुटारमा आयोजित शिविरमा १० नं. अध्यक्ष गणेशकुमार नेपाल लगायतका जनप्रतिनिधि एंव कर्मचारीहरुको समेत सहभागिता रहेको विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो ।

जाँच एंव परीक्षण सम्बन्धि सेवाको जानकारी लिनुहुदै नगरप्रमुख राजन श्रेष्ठ ।

उहाँको अनुसार शिविरमा उमेर ढल्केका अर्थात ज्येष्ठ नागरिकहरु, श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीहरु, शरिरको प्रतिरक्षा कमजोर भएका व्यक्तिहरु, मधुमेह, क्यान्सर, एचआइभी -एड्स सक्रमित भएका व्यक्तिहरु, धुम्रपान तथा लागूपदार्थको सेवनको कारण स्वास्थ्य समस्यामा रहेका व्यक्तिहरु, शरिरको अङ्ग प्रत्यारोपण गरिएका व्यक्तिहरु, सिमेन्ट–गलैचा तथा इट्टा भट्टा जस्ता बायु प्रदूषण ग्रसित हुने क्षेत्रमा कार्यरत मजुदुरलाई लक्षित गरेर क्षयरोग सम्बन्धि निःशुल्क एआई एक्सरे सञ्चालन गरिएको हो ।

शिविरमा जाँच गराउदा शरिरको महत्वपूर्ण रहेका अङ्गहरु मुटु, फोक्सो, मृगौला, कलेजो, छात्ती लगायतमा रोगको सक्रमणको अबस्था के कस्तो रहेको र आगामी दिनमा स्वस्थ्य राख्नको लागी के गर्न सकिन्छ भने परामर्श एंव सल्लाह समेत दिइएको थियो ।

विदुर नगरपालिकाको पहलमा नुवाकोटमा पहिलोपटक आयोजना गरिएएको एआई एक्सरे शिविर मार्फत क्षयरोगको पहिचानको लागी खोजपड्ताल गरिएको हो । शिविरमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर र त्रिशूली अस्पताल नुवाकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु मार्फत स्वास्थ्य जाँच एव परीक्षण गरिएको हो ।

शिरिरको पहिलो दिन देवीघाटमा १६५ जनाको स्वास्थ्य परीक्षण गर्दा २१ जनामा शशंकास्पद लक्षण देखिएको थियो भने दोश्रो दिन गेर्खुटारमा दुईसय १५ जनाको परीक्षण गर्दा २८ जनामा शंकास्पद लक्षण देखिएकाले ती व्यक्तिहरुबाट संकलन गरिएको  नमूना (खकार)को थप परीक्षणको लागि त्रिशूली अस्पतालमा पठाइएको नगरपालिकाका क्षयरोग स्वास्थ्य संयोजक गरिमा जोशीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web