
मकवानपुर । बागमती प्रदेश सरकारले ५ सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ । २०८० सालदेखि हालसम्म प्रदेश सरकारको सहकारी हेर्ने मन्त्रालयले ५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
बागमती प्रदेश सरकार अन्तर्गत साविकको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । अहिले सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, काठमाडौँको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र ललितपुरको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।
गत भदौ २१ मा पहिलो पटक सिभिल सहकारी, २०८१ कात्तिक ११ मा दर्शन सहकारी र पुस २८ मा नेशनल नमोबुद्ध, लालीगुँरास र सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । समस्याग्रस्त घोषणा गरिएसँगै नेशनल नमोबुद्ध र लालीगुँरास सहकारीमा प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँले शिल गरिसकेको छ । कार्यालयले सो सहकारीको आयव्ययको अवस्था जाँचबुझ गर्न कम्प्युटरका हार्डडिक्सहरू सिज गरेको छ भने खातासमेत रोक्का गरिसकेको छ ।
यी सहकारीहरूको समस्या व्यवस्थापन गर्न गत असार १० मा कार्यालय स्थापना गरेर काम थालेको उक्त समितिले साउनदेखि औपचारिक रूपमा काम थालेको थियो । १४ जना कर्मचारीको दरबन्दी कायम गरी काम सुरु गरेको समितिले ४ वटा सहकारीको व्यवस्थापन गर्ने काम गरिरहेको छ ।
गत २८ पुसमै समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीमा भने कार्यालयले हालसम्म शिल गर्न सकेको छैन । एउटै नामका ३ सहकारी देखिएको र उक्त विषय मिलाउनु पर्ने भएकाले सुमेरु सहकारीमा शिल गर्न कठिन भएको थियो । काठमाडौँ, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौँको सुमेरु सहकारीले एकीकरणको सम्झौतासमेत भएकाले शिल गर्न समस्या भएको थियो ।
कार्यालयका प्रमुख महेश आचार्यका अनुसार समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान भएको र बिहीबार शिल गरी आवश्यक कागजात तथा सिस्टम सिज गरिनेछ । सोही अनुसार हेटौँडामा छलफल भइ हाललाई ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने तयारी रहेको उनले बताए ।
एकीकरणको सहमति भए पनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौँको सुमेरु सहकारीमा शिल नगर्ने निर्णय भएको आचार्यको भनाइ छ । तत्कालका लागि ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने र अनुसन्धानको क्रममा संलग्नता देखिए काठमाडौँको सुमेरुमा पनि शिल गरेर अघि बढ्ने निर्देशन प्राप्त भएको उनले बताए ।
17.3¡ÆC