बाग्मती प्रदेशमा विपद्जन्य घटना : तीन अर्ब ४४ करोड रूपैयाँ मूल्य बराबरको क्षति

कार्तिक १०, २०८१ मा प्रकाशित | 205 views


काठमाडौँ । बाग्मती प्रदेशमा बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा काठमाण्डौ उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको ज्यान भएको छ । सबैभन्दा बढी क्षति अघिल्लो महिना असोज १०, ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी भएको छ ।

यो विपद्मा एक सय ७७ जनाको ज्यान गएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीले बगाएर ११ जना र डुबेर नौ जनाको ज्यान गएको हो ।

यस्तै यही अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको ज्यान गएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यस अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उहाँको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।

त्यस्तै विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पन्छी र पाँच सय १६ चौपाया मरेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यही अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० रूपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web