बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्णयमा चिकित्सक सङ्घको आपत्ति

भदौ १८, २०८१ मा प्रकाशित | 195 views


काठमाडौँ । नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदाका दिनमा पनि अस्पतालहरूलाई बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । २०४८ सालदेखि सरकारी अस्पतालहरूमा दरबन्दी नथपिएको र सेवा सुविधाहरू ज्यादै न्यून रहेको अवस्थामा बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिनु आपत्तिको विषय भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरूमा समेत बहिरङ्ग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएकोले निर्णय फिर्ता लिन चिकित्सक सङ्घले माग गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले व्यक्तिको श्रम अवधि हप्ताको ४० घण्टा तोकेको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन स्मरण गराउँदै सङ्घले पर्याप्त आराम गर्न नदिई बिदाका दिनमा समेत बहिरङ्ग सेवा शुरू गरेमा धेरै समस्या आउने जनाएको छ ।

स्वास्थ्यकर्मीहरूमा शारीरिक तथा मानसिक तनाव बढ्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कमी आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने, कामको अत्यधिक बोझ तथा लगातारको तनावले गर्दा परिवारमा असमझदारी तथा डिभोर्ससम्म हुने गरेका घटनाहरू देखिएका विज्ञप्तिमा उल्लेख छ । कतिपय स्वास्थ्यकर्मीहरूमा अत्यधिक तनावका कारण जटिल मानसिक समस्याहरू उत्पन्न भएर आत्महत्यासमेत बढेको अहिलेको अवस्थामा बिदाको दिनमा समेत थप कार्यबोझ थपिदिने निर्णय ठूलो अन्याय भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web