त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु भएको छ । बागमती प्रदेस सरकारको आर्थिक लगानीमा जडान गरिएको सिटी स्क्यान उपकरणको शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गर्दै सेवा सञ्चालनमा ल्याइएको हो ।

त्रिशूली अस्पतालको ६०औँ बार्षिकोत्सवको अवसर बनाएर सेवा विस्तारको क्रममा सुरु गरिएको सिटी स्क्यान उपकरणको सहायताले सघन प्रकृतिका उपचारको लागी काठमाडौ जानुपर्ने बाध्यता अन्त्य गराउन महत्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालको सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य प्रवाहको लागी सिटी स्क्यान पश्चात आगामी दिनमा सुत्केरी सेवालाई व्यवस्थापन र अस्पतालको लागी चाहिने जग्गा सहितको भौतिक संरचना निर्माणमा मुख्यमन्त्री तामाङले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।
सिटी स्क्यान सेवा सञ्चालन नहुदाँ उक्त उपकरणको सहायताले पत्ता लगाउनुपर्ने रोगका बिरामीलाई काठमाडौ पठाउनुपर्ने बाध्यता अन्त्य गर्दै अस्पतालको सेवा आगामी दिनमा अझै गुणस्तरीय हुने त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले बताउनुभएको छ ।
उहाँको अनुसार त्रिशूली अस्पतालमा सुविधासम्पन्न भौतिक संरचनामा पिसिआर प्रयोगशाला, भेण्टिलेटर, आइसियू, एन–आइसियू, अक्सिजन प्लाण्ट, सिटी स्क्यान, इको, सघन प्रकृतिका शल्यक्रिया सेवाहरु विशेषज्ञ चिकित्सक मार्फत प्रवाह भइरहेको छ ।

त्रिशूली अस्पतालको ६०औँ बार्षिकोत्सवको अवसरमा आयोजित आकस्मिक कक्षमा उपचाररत बिरामीलाई फलफूल वितरणको क्रममा बिरामीसंग साक्षात्कार गर्दै विदुरका नगरप्रमुख राजन श्रेष्ठ ।
अस्पतालले बहिरङ्ग विभाग मार्फत दैनिक पाचसय भन्दाबढीलाई सेवा दिदै आइरहेको छ । अहिले एकसय शैया क्षमताको अस्पताललाई आगामी दिनमा थप विस्तार गर्दै हब अस्पतालको रुपमा स्तरउन्नती गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य सेवा मापदण्डको तथ्याङ्कको आधारमा त्रिशूली अस्पताल देशभरमै उत्कृष्ट अस्पतालको रुपमा रहेको छ ।
कार्यक्रममा बागमती प्रदेस स्वास्थ मन्त्री किरण थापा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सहित जिल्ला स्थित विभिन्न स्थानीयतहका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

17.31¡ÆC