कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

साउन ७, २०८१ मा प्रकाशित | 178 views


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रममा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उहाँको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने वि.सं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो ।

नागरिकको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

वि.सं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उहाँकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web