पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले दियो ८० जनालाई बेकरी र बार टेण्डर तालिम

असार २६, २०८१ मा प्रकाशित | 797 views


त्रिशूली । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मार्फत नुवाकोटमा सञ्चालनमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले ८० जना युवालाई बेकरी र बार टेण्डर तालिम प्रदान गरेको छ । गत चैत २६ गतेदेखि सुरु भएको तीन महिने तालिमको बुधबार विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले समापन सहित सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै तालिम लिएका युवालाई आफैले उद्योग प्रतिष्ठान खोलेर स्वरोजगार बन्न र त्यस्तो सम्भव नभए सिप अनुसारको रोजगारमा जोडिन आग्रह गर्नुभयो ।

उहाँले सिप हातमा अवसर साथमा भन्ने भनाईलाई स्मरण गराउदै आर्थिक उपार्जनको लागी शिक्षा र सिप नै महत्वपूर्ण आधार भएको सिप सिकेका युवालाई सोही अनुसार पेशामा जोडिन अनुरोध गर्नुभयो ।

“निःशुल्क रुपमा उपलब्ध गराईको सिपमा जनताले तिरेको करको हिस्साबाट नै खर्चिएको हुनाले सिप सिक्न पाएको अवसर र सिकेको सिपलाई खेर जान दिने छुट हुन्न” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “उद्योग प्रतिष्ठान खोल्नको लाग नगरपालिका साथमा छ । रोजगारको लागी आवश्यक सहजिकरण समेत गर्ने छौ ।”

कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सिप सिकेकालाई देश तथा विदेशमा रोजगारको अवसर प्रशस्त माग भएकाले अबका दिनमा आर्थिक उपार्जनमा केन्द्रित हुन सुझाब दिनुभयो ।

कार्यक्रममा शिक्षालयका प्रमुख कपिल पाण्डेले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले यसअघि विभिन्न बिधामा तालिम दिएर उत्पादन गरेको जनशक्ति अधिकांश रोजगारमा संलग्न भएको भन्दै अहिले बेकरी र बार टेण्डरको तालिम लिएकालाई पनि रोजगारको लागी अवसर रहेकाले सिपलाई उपयोगमा ल्याउनतर्फ लाग्न अनुरोध गर्नुभयो ।

शिक्षालय नुवाकोटका स्थापनासगैँ यसअघि विभिन्न विधामा एक हजार युवालाई विभिन्न तालिम प्रदान गरिसकेको थियो भने बेकरी र बार टेण्डरको तालिम भने पहिलो पटक सञ्चालन गरिएको शिक्षालयका विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिनुभयो ।

गत चैत २६ गतेदेखि सुरु भएर यही असार २६ गतेसम्म चलेको तीन महिना अर्थात ६५ कार्यदिने बेकरी र बार टेण्डरको तालिममा अधिकांश विदुर निवासी युवाहरुको बाहुल्यता रहेको थियो ।

८० जना प्रशिक्षार्थीहरुले उक्त तालिमको प्रारम्भिक ज्ञान पाएसगैँ रोजगारको लागी सक्षम भएका छन् भने आगामी दिनमा माथिल्लो लेभलको तालिम लिनको लागी पनि सहजता हुने भएकाले सहभागिहरुलाई यस तालिम निकै प्रभावकारी रहेको शिक्षालयका विभागीय प्रमुख प्रकाश रैलाको भनाई छ ।


६५ दिनको निःशुल्क तालिम लिएका प्रशिक्षार्थीहले बेकरीतर्फ बिभिन्न परिकार बनाउने जानेको र बारटेण्डर तर्फ पेयपदार्थहरुको विभिन्न किसिममा कक्टेल र मक्टेल बनाउनका साथै आतिथ्यता सत्कार गर्न सिकेको बताउदै तालिमबाट आफूहरुको सिपमा उल्लेख्य सुधार आएको बताएका छन् । उनीहरुले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयबाट छोटो अवधिको तालिम प्राप्त गर्न सफल भएसगैँ रोजगारमा संलग्न हुने र आगामी दिनमा थप लेभलको तालिम लिने विश्वास दिलाएका थिए ।

नुवाकोटमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) उर्तिण भएका विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको लागी भर्ना खुलेको हुदाँ पशु विज्ञान, बालि बिज्ञान र होटेल ब्यबस्थापन संकायमा पढ्न इच्छुकलाई आवेदन फाराम बुझाउन अनुरोध गरिएको छ ।

नुवाकोटमा नै सहुलियत शुल्क अर्थात तीन वर्षको कुल शुल्क ६० हजारमा नै प्राबिधिक शिक्षा अध्ययन गरेर दक्ष जनशक्ति बन्ने सुवर्ण अवसरको लाभ लिन शिक्षालयले विशेष गरेर याहाँका विद्यार्थीहरुको लागी अनुरोध गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web