
त्रिशूली । विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता अभियन्ता मच्छिन्द्रनरसिंह प्याकुरेल र उहाँको जिवनसंगिनी निता थपलिया (प्याकुरेल) सम्मानित हुनुभएको छ । यस्तै दुलर्भ रक्त समूहको रुपमा रहेको ओ नेगेटिभ रक्तदाता अभियन्ता सुवास भण्डारी जिल्लामा दोश्रो धेरै पटक रक्तदान गर्ने दाताको रुपमा सम्मानित हुनुभयो ।
नुवाकोट जिल्लामा रहेका रक्तदाता मध्ये सबैभन्दा धेरै पटक रक्तदान गर्नुभएको प्रमाणको आधारमा स्वास्थ्य कार्यालय नुवाकोटले विदुर नगरपालिका–२ निवासी रक्तदाता अभियन्ता मछिन्द्रनरसिंह प्याकुरेल दम्पत्तिलाई सम्मान गरिएको हो ।


स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीको अनुसार बागमती प्रदेस, स्वास्थ्य मन्त्रालयले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदातालाई प्रोत्साहन अन्तरगत धेरै पटक रक्तदान गर्ने उत्कृष्ट तीन जना दातालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत नुवाकोट जिल्लाभित्र ५१ पटक रक्तदान गर्नुभएकोमा विदुर नगरपालिका–२ निवासी रक्तदाता अभियन्ता मच्छिन्द्रनरसिंह प्याकुरेललाई (प्रथम स्थान) सम्मान गरिएको हो । उहाँको जिवनसंगिनी निता थपलिया प्याकुरेलले पटक रक्तदान गरेर नुवाकोट जिल्लाभित्र हालसम्म धेरै पटक रक्तदान गर्ने दाता मध्ये तेश्रो स्थानको सम्मान पाउनुभएको छ ।



नुवाकोट जिल्लामा धेरै पटक रक्तदान गर्ने दाताको रुपमा दोश्रो स्थानमा विदुर नगरपालिका–७ तुप्चे निवासी सुवास भण्डारी हुनुहुन्छ । विश्वमा नै दूर्लभ रक्त समूहमा पर्ने ओ नेगेटिभ रक्तदान गर्नुहुने भण्डारीले अहिलेसम्म नुवाकोट जिल्लामा नै २५ पटक रक्तदान गर्नुभएको छ ।


उक्त तथ्याङ्क नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा मार्फत सञ्चालित रक्त सञ्चार केन्द्रले दिएको तथ्याङ्क भएकाले जिल्ला भित्र रक्तदान गर्नेको आधिकारिक तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीको भनाई छ ।
उत्कृष्ट रक्तदाताहरुलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापति हरी श्रेष्ठबाट सयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।
24.52¡ÆC