बेलकोटगढी नगरबासीले निःशुल्क रगत पाउने

जेष्ठ २१, २०८१ मा प्रकाशित | 1266 views


नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाबासीले बिरामी हुदाँ आवश्यक रगत निःशुल्क पाउने भएका छन् ।
त्यसको लागी बेलकोटगढी नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा मार्फत सञ्चालनमा रहेको रक्तसञ्चार सेवा केन्द्रसंग सम्झौता गरेर नगरबासीलाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँको अनुसार नगरबासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य उपचारका विभिन्न कार्यक्रमहरु सञ्चालन अन्तरगत पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउन लागिएको हो । बेलकोटगढी नगरपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउन चालु आर्थिक वर्षको लागी रु तीन लाख रेडक्रस नुवाकोटलाई उपलब्ध गराएको छ । यो अभियान लाभदायक भएमा निरन्तरता दिने योजना रहेको नगरप्रमुख जगतबहादुर गुरुङको लक्ष्य छ ।

निःशुल्क रगत पाउनको लागी नुवाकोट जिल्लामा कोलनी स्थित रक्तसञ्चार केन्द्र मार्फत उपलब्ध रहेको छ भने नुवाकोट बाहिर जहाँ उपचार गर्नुपर्ने हो सोही स्थानमा खरिद गरेको रगतको बिलको आधारमा रक्त सञ्चार केन्द्र कोलनी मार्फत उक्त रगत खरिद बापतको शुल्क भुक्तानी हुने प्रबन्ध मिलाइएको नगरउपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो ।

अहिलेको निर्वाचित जनप्रतिनिधिको मुख्य लक्ष्यको रुपमा रहेको स्वास्थ्य सुधार र शिक्षाको गुणस्तर अन्तरगत बिरामीले समयमा नै उपचार पाउने सुनिश्चित गराउनको लागी पालिकाबाट एम्बुलेन्स खरिद गरेर सञ्चालन ल्याइएको छ ।

यसैगरी, निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा परीक्षण, औषधि वितरण वितरण, दक्ष चिकित्सक एंव स्वास्थ्यकर्मीबाट बिरामी जाँच, सरकारी सेवा प्रवाह अन्तरगत आकस्मिक सेवालाई चौविसैघण्टा सञ्चालन लगायतमा केन्द्रित हुदै आएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web