प्रेस काउन्सिल ऐन संसोधन हुनुपर्छः अध्यक्ष बस्नेत

पुस १३, २०८० मा प्रकाशित | 257 views

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्र्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संसोधन गर्नुपर्ने बताउनुभएको छ । काउन्सिलले शुक्रबार आयोजना गरेको पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले नयाँ मिडियाले ल्याएको चुनौती समाधान गर्नका लागि उक्त ऐनका केही दफा संसोधन गर्न जरुरी भएको औँल्याउनुभयो।

‘डिजिटल प्लेट्फर्म मार्फत सञ्चालित सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि अहिले भएकै प्रेस काउन्सिल ऐनका केही दफा हेरफेर गरे पुग्छ । सरकारले चाह्यो भने यो प्रक्रिया चाँडै टुंगो समेत लाग्छ’, अध्यक्ष बस्नेतको सुझाव थियो, ‘नियमनकै लागि वर्षौं लगाएर नयाँ ऐन ल्याइरहनु पर्दैन । कानुनको नाम फेरेर भन्दा पनि भइरहेको कानुनमा के थपघट गर्ने हो त्यसतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।’

उहाँले केही नेपाल ऐन संसोधन गर्ने विधेयक मार्फत छोटो बाटोबाट अनलाइन र सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्न सकिने बताउनुभयो । नयाँ खुलेका अनलाइनका सम्पादक, प्रकाशकहरु सहभागी कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको र त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले काउन्सिलले अनलाइनलाई मर्यादित र जिम्मेवार बनाउन सृजनात्मक काम गर्दै आएकोमा प्रशंसा गर्नुभएको थियो ।
‘विगतमा कतिपय पत्रकार आचारसहिंता उल्लङ्घनको कारबाहीमा पर्दा आचारसहिंता हुन्छ भन्ने गुनासो आउने गरेको थियो । यस्ता अभिमुखिकरणले त्यो समस्या हल गरेको छ, पोखरेल भन्नुभयो ।

काउन्सिलका बोर्ड सदस्य दिपक पाण्डेले नयाँ दर्ता भएका अनलाइनहरुले समाजलाई सही दिशामा लैजाने गरी पत्रकारिता गर्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकारले कुनै पनि समाज, वर्गलाई चोट नपुर्‍याउन, सामाजिक सद्भाव नविथोल्न सजग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले काउन्सिलबाट जारी भएका सञ्चार निर्देशिकाबारे सहजीकरण गर्नुभएको थियो ।

राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य एवम विषय विज्ञ डिल्लीराम भट्टराईले आचारसहिंता र काउन्सिलले जारी गरेका निर्देशिकाहरुको पालना गर्दा पेशागत मर्यादा र गरिमा बढ्ने बताउनुभयो । ‘स्वच्छ पत्रकारिताको नमुना देखाउन यस्ता कार्यक्रम फलदायी हुन्छ, भट्टराईले भन्नुभयो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालले पत्रकारितामा कोही रहरले आउने त कोही झ्वाम्म हाम फाल्ने लगायतका प्रवृत्ति देखिएको उल्लेख गर्नुभयो ।
काउन्सिलले नयाँ सूचीकरण हुन आएका अनलाइन पत्रिकाका सञ्चालकहरुलाई सूचीकरण प्रमाणपत्र प्रदान गर्नु पहिले यस्तो अभिमुखीकरण दिँदै आएको छ । शुक्रबारको कार्यक्रम यसैको ३५ औँ श्रृङ्खला हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web