
नुवाकोट । तारकेश्वर गाउँपालिकाकै दुर्गम र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको गाउँ वडा नं ६ को डाँडाखर्कमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य इकाइ केन्द्रको गाउँपालिका अध्यक्ष शिव अधिकारीले उद्घाटन गर्नुभएको छ ।
अध्यक्ष अधिकारीले स्वास्थ्य सेवाको पहुँचबाट कोल्टे परेका तारकेश्वरका गाउँहरूलाई लक्षित गरी तीनवटा स्वास्थ्य केन्द्र विस्तार गर्ने घोषणा गर्नुभएको थियो । घोषणाअनुसार, वडा नम्बर १ को सेलडाँडामा मङ्सिर १६ गते स्वास्थ्य केन्द्र उद्घाटन भइसकेको छ । यसअघि, अध्यक्ष अधिकारीले वडा नं २ को तल्लो भेगलाई लक्षित गरी तारुका माझिगाउँमा स्वास्थ्य केन्द्र उद्घाटन गर्नुभएको थियो । दुवै स्वास्थ्य केन्द्रबाट अहिले नियमित सेवा प्रवाह भइरहेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले डाँडाखर्कले अब विगतमा जस्तो पिछडिएर बस्न नपर्ने बताउनुभयो । डाँडाखर्कको खानेपानीको समस्या पनि छिट्टै समाधान गर्ने बताउँदै अध्यक्ष अधिकारीले यथाशक्य चाँडो मुहान पहिचान गरी सहमति गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । स्थानीयबाट मुहानमा सहमति हुन नसके गाउँपालिकाले आफैं अपनत्व लिएर बल प्रयोग गरेरै भए पनि डाँडाखर्कवासीलाई पानी खुवाएरै छाड्ने संकल्प उहाँले गर्नुभयो ।
एउटा सिटामोलको लागि पनि घण्टौ धाउनुपर्ने बाध्यता अन्त्य भएको र पहिलोपटक आफ्नो गाउँमा सरकारी कार्यालय आएकोमा डाँडाखर्कवासी निकै उत्साहित देखिए ।
23.85¡ÆC