जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका लागि नेपालको तयारी शुरु

साउन ३०, २०८० मा प्रकाशित | 255 views

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन कोप–२८ का लागि नेपालको आन्तरिक तयारी शुरु भएको छ ।

सम्मेलनको औपचारिक तयारी थालेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । पहिलो चरणमा उच्चस्तरीय राष्ट्रिय निर्देशक समितिको बैठकलाई कोप–२८ को तयारीका लागि बनाएको समग्र मार्गचित्रका बारेमा जानकारी गराएको र कार्यान्वयनका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, वनसचिवको अध्यक्षतामा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ ।

सम्मेलनको तयारीका लागि मन्त्रालयले सरोकारवाला विज्ञसहितको समूह गठन गरी विभिन्न सुझाव सङ्कलन गरेर राष्ट्रिय कार्यपत्रको तयारी गरिने जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

 संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन यस वर्ष आउँदो नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म दुबईमा हुँदैछ । आयोजक यूएईले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मेलनका लागि निमन्त्रणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web