उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार गाडी कारबाहीमा

असार २७, २०८० मा प्रकाशित | 233 views

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ गाडीलाई कारबाही गरेको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

कारबाही गरिएकामध्ये लेन उल्लंघन गर्ने ३८ हजार तीन सय ६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार नौ सय ३२ गाडी कारबाहीमा परेका छन् ।

त्यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभावी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने सात सय ३६, जथाभावी हर्न बजाउने १४ हजार चार सय ४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने एक सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार चार सय ८५ गाडी रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाण्डौ उपत्यकाको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

अहिले देशभर ३० लाखभन्दा बढी गाडी सञ्चालनमा रहेका छन् । तीमध्ये काठमाण्डौ उपत्यकामा मात्र १२ देखि १५ लाख गाडी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web