मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

असार २६, २०८० मा प्रकाशित | 230 views

काठमाडौँ । बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको मनाङ एअरको नाइन एन ए एम भी कलसाइनको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेमा रहेको लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पनि हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गर्नु भएको छ । हेलिकप्टरमा चालकसहित ६ जना विदेशी यात्रु थिए । क्याप्टेन चेत गुरुङले हेलिकप्टर उडाउनु भएको थियो । हेलिकप्टरमा रहेका पाँचै जना मेक्सिकोका नागरिक रहेका लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलले जानकारी दिनुभयो ।

हेलिकप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । अहिलेसम्म ४ जनाको मात्रै शव भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । दुर्घटनास्थलमा काठमाण्डौबाट गएको अल्टिच्युड एअरको हेलिकप्टर पुगेको छ । उद्धारको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web