देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने व्यवसायीको चेतावनी

असार ५, २०८० मा प्रकाशित | 327 views

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने चेतावनी दिएको छ ।

महासङ्घले आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासङ्घले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ ।

पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानका लागि पहल गरे पनि अहिलेसम्म नभएको गुनासो गर्नुभयो। उहाँले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुन बमोजिम सञ्चालनमा आएका उद्योगहरूसमेत बन्द गरेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्ले गएकाे माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुनअनुसार लाग्ने कर, दस्तुर, शुल्कलगायत राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रूपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको गुनासाे गर्नुभयाे ।

अध्यक्ष न्याैपानेले क्रसर उद्योगहरू दर्ता वा राजस्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरणसमेत नभएको बताउनुभयो । उहाँले सरकारले कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन नगरे असार १६ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूबाट बिक्री/वितरण तथा उत्पादन ठप्प गरी अनिश्चितकालका लागि बन्द गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web