रसुवामा आगलागीमा परेर बृद्ध दम्पतीको निधन

चैत्र २७, २०७९ मा प्रकाशित | 273 views

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नंं ५ चिलिमेको छोदुम गाँउमा आगलागी हुदाँ दुई जनाको जलेर निधन भएको छ ।

आइतबार बिहान आगलागीमा परेर छोदुमका ८६ वर्षीय लोप्साङ तामाङ र उहाँको श्रीमती ८६ वर्षीया छेकी तामाङको निधन भएको रसुवा प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार उहाँहरु बसोबास गर्दै आएको जस्तापाताले बेरेर बनाएको घरमा बिहानपख आगलागी भएको हो । आगोमा जलेर घाइते भएका उहाँहरु दुवै जनालाई उपचारको लागी धुञ्चे अस्पताल ल्याउने क्रममा बीच बाटोमा नै निधन भएको हो । आगोमा जलेर निधन भएका बृद्ध दम्पत्तिहरु निसन्तान भएको र छिमेकीको घर नजिकै नभएकाले आगलागी भएको घटनामा घर क्षति भइसकेपछि मात्र अरुले देखेको बताएका छन् ।

प्रहरीले घटनामा अपराध पनि भएको हुनसक्ने भन्दै आवश्यक अनुसन्धान अघि बढाएको छ । उहाँहरुसंग रिसिबी भएका व्यक्ति तथा उहाहरुको धनसम्पत्तिको लोभमा कोही कसैले कर्तव्य पनि गरेको हुनसक्छ भनेर प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको हो ।

आगलागी के कारणले लागेको हो त्यो खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीको क्रममा उहाँहरुको घरमा भएको धनसम्पत्ति, अन्नबाली, भाडावर्तन सबै जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web