त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. ४ बेतिनीमा हिजो शुक्रबार टाटासुमो दुर्घटना हुदाँ तीन जनाको निधन भएको छ भने १० जना घाइते भएका छन् ।
बेतिनीबाट यात्रु लिएर काठमाडौ जान लागेको सुमो अपरान्ह सोही स्थानको धारापानी भन्ने स्थानको ओरालोमा अनियन्त्रित हुदाँ घटनास्थलमा दुई जना र उपचारको क्रममा काठमाडौको ट्रमा सेन्टरमा थप एक जनाको निधन भएको हो ।
दुप्चेश्वर गाँउपालिकावडा नं .४ का स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको भने उपचारको क्रममा ट्रमा सेन्टरमा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार घाइते भएका अधिकांशको हड्डी भाचिएकाले उनीहरु सबैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ना.१ ज ३९८४ नं. को सुमो बेतिनीबाट काठमाडौ जाने क्रममा ओरालोमा आफै अनियन्त्रित भएर करीब ३०० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।
घाइते भएर उपचाररतमा गाडी चालक २५ वर्षका लाक्पा छिरिङ, २३ वर्षीया निरमाया तामाङ र उहाँको १४ महिनाको छोरी सब्रिना, २४ वर्षीया अञ्जु तामाङ, २३ वर्षीय कुमार तामाङ, १२ वर्षीया डोल्मा तामाङ, ३७ वर्षीय शेरबहादुर तामाङ, २० वर्षीय सुनबहादुर तामाङ, ३० वर्षीय लाक्पा तामाङ र २४ वर्षीय टेकबहादुर तामाङ रहनुभएको छ ।
अर्थमन्त्री डा.महतबाट दुःख व्यक्त :
यसैबीच, नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार राती ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । उहाँले घाइतेको उपचारमा प्राथमिकता दिन चिकित्सकलाई आग्रह गर्नुभयो ।


अर्थमन्त्री डा.महतले सामाजिक सञ्जाल मार्फत जीवन गुमाउनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलभाको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

27.9¡ÆC