आठ महिनामा ५ लाख ६१ हजार गाडी कारबाहीमा

चैत्र ७, २०७९ मा प्रकाशित | 343 views

काठमाडौँ । काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ गाडी कारबाहीमा परेका छन् ।

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा गाडीलाई कारबाही गरेको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी गाडी अड्याउन निषेध गरेको ठाउँमा गाडी राखेको कसुरमा ८८ हजार चार सय ७२ गाडी कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, गाडीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, जाँडरक्सी खाएर गाडी चलाउने ३७ हजार आठ सय ९६ गाडी कारबाहीमा परेका छन् ।

यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा गाडी चलाउने १६ हजार नौ सय ६८, गाडी मोड्न निषेध गरेको ठाउँमा गाडी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वान वेमा गाडी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका गाडी चलाउने २८ हजार आठ सय ९९, गाडी चलाउन निषेध गरिएको ठाउँ र समयमा गाडी चलाउने १६ हजार दुई सय ४७ गाडीलाई कारबाही गरेको हो ।

पेटी र हेल्मेट नबाँधी गाडी चलाउने २१ हजार नौ सय ८१, लापरबाही साथ गाडी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखि गाडी चलाउने ४४ हजार ३८, गाडी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको गाडी चलाउने २० हजार छ सय ६५, जथाभाबी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक ठाउँमा बाधा पुग्ने गरी गाडी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा गाडी चलाउने २५ हजार सात सय ८२ गाडी कारबाहीमा परेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिनुभयो । ‘ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ’, उहाँले भन्नुभयो ।

अहिले काठमाण्डाै उपत्यकाभित्र २० लाख हाराहारीमा गाडी आवतजावत हुँदै आएको जनाइएको छ । गाडी व्यवस्थापनका लागि काठमाण्डाै उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web