लिखु गाँउपालिकाको दोश्रो चौमासिकअवधिसम्मको सार्वजनिक सुनुवाई सम्पन्न

चैत्र ६, २०७९ मा प्रकाशित | 318 views

अमिलबाटे । नुवाकोटको लिखु गाँउपालिकाको चालु आर्थिक वर्षको अहिलेसम्म अर्थात दोश्रो चौमासिक अवधिसम्म सम्पादन गरेका काम तथा प्रवाह गरेका सेवाको सम्बन्धमा नागरिकहरुको प्रतिक्रिया लिएको छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म पालिका र पालिका अन्तरगत रहेका ६ वटै वडामा सञ्चालन भएका तथा हुने क्रममा रहेका योजनाहरुको सम्बन्धमा सार्वजनिक सुनुवाई मार्फत सरोकारवाला आमनागरिकको प्रतिक्रिया संकलन गरिएको हो । लिखु गाँउपालिकाको आयोजना तथा युवा सञ्चार नेपाल मार्फत सञ्चालित रेडियो चिम्टेश्वरको सहजिकरणमा यसअघि बिहीबार वडा नं .१, २ र ३ मा केन्द्रित भएर सार्वजनिक सुनुवाई गरिएकोमा यही शुक्रबार वडा नंं ४, ५ र ६ मा सञ्चालित योजना तथा कार्यक्रम र पालिका सहित ती वडाहरुले प्रवाह गरेको सेवा सम्बन्धमा आमनागरिकहरुलाई जानकारी दिदै त्यसमाथी सरोकारवाला जनताहरुको राय संकलन गरिएको हो ।

गाँउपालिकाको अध्यक्ष धुव्र श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बम सहितको पालिकाको विभिन्न शाखाको प्रमुखहरुको उपस्थितमा हिजो शुक्रबार वडा नं ५ स्थित गाँउपालिकाको भवन परिसरमा पिपलबोटेमा आयोजित सार्वजनिक सुनुवाईमा वडा नं. ४, ५ र ६ नं. भित्र चालु आर्थिक वर्ष भित्र सञ्चालन भएका तथा हुन लागेका योजना, वडा कार्यालयमा दर्ता भएका घटनादर्ताको विवरण, पालिकाले संकलन गरेको राजश्व तथा सेवा प्रवाहमा गरिएको सहजिकरणको सम्बन्धमा सम्बन्धित वडाको वडाध्यक्षहरुबाट नागरिकहरुलाई जानकारी गराइएको हो ।

सार्वजनिक सुनुवाईमा वडा नंं ४ को वडाध्यक्ष प्रकाश राई र वडासचिव राजनप्रसाद अधिकारी, वडा नं .५ को वडाध्यक्ष विश्वप्रसाद खतिवडा र वडा नं .६ को वडाध्यक्ष सुमन भण्डारीले आ–आफ्नो वडा कार्यालयबाट प्रवाह गरिएको योजना तथा कार्यक्रम एव बजेट सहित घटना दर्ताको तथ्याङ्क, राजश्व संकलन, वडा कार्यालयको पहलमा भए–गरेका कार्यसम्पादनको जानकारी गराउनुभएको थियो ।

वडा कार्यालयले प्रवाह गरेको सेवा तथा कार्यसम्पादन प्रभावकारी रहेको भन्दै सहभागी सरोकारवालाहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ भने वडा नं १, २ र ३ का नागरिकहरुले जस्तै वडा नं. ४, ५ र ६ नं .का नागरिकहरुले पनि पालिकाको भवन निर्माणमा भइरहेको ढिलाई प्रति चासो देखाउदै कुन स्थानमा बनाउने हो त्यस सम्बन्धमा तत्कालै निर्णय लिन सुझाब दिएका छन् ।

पालिकाको आफ्नै भवन नहुदाँ सेवा प्रवाहमा कठिनाई भइरहेको, भाडाको भवनमा बस्नुपर्ने बाध्यताले खर्चको दायरा बढेको तथा पालिकाको केन्द्र अझै अन्योल भएकाले जग्गाको एकीन गरेर कानूनी प्रक्रिया पूरा गर्दै विपतबाट सुरक्षित र सबैलाई पायक पर्ने स्थानमा भवन निर्माण गर्नको लागी ढिलो नगर्न सहभागी सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् ।

लिखु गाँउपालिकाबाट प्रवाह भएको सेवा प्रति नागरिकतहबाट सन्तोषजनक प्रक्रिया पाएसगैँ भवन निर्माणमा देखाएको चासोलाई पालिकाले गम्भीर रुपमा लिएको गाँउपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभएको छ ।

सार्वजनिक सुनुवाईमा जवाफदेही वक्ताको रुपमा रहनुभएका अध्यक्ष धुव्र श्रेष्ठले पालिकाको लागी प्राप्त भएको बजेटको खर्च विवरण प्रस्तुत गर्दै सिमित श्रोत र साधनको बीचमा पनि लिखु गाँउपालिकाले जनताको अधिकांश माग पूरा गर्दै आइरहेको, नयाँ योजना तथा कार्यक्रमहरु भित्र्याउन सफल भएको तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कलन लगायतका सूचाङ्ककहरुमा निकै सुधार गर्दै आइरहेको जानकारी दिनुभएको छ ।

कार्यक्रममा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले सार्वजनिक सुनुवाईको उद्देष्य र औचित्वमाथी स्पष्ट बनाउदै धेरैबाट जिज्ञासा उठेको गाँउपालिकाकाको भवन निर्माणको सन्दर्भमा पालिकाको भवन बनाउन हरेक वर्ष बजेट छुट्टाउदै आएपनि उपयुक्त स्थानको अभावले बनाउन नसकिएको जानकारी दिनुभएको छ । अब गाँउपालिकाको केन्द्रको निक्र्योल भएसगैँ भवन निर्माण अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभएको छ ।

तत्कालीन समयमा गाँउपालिकाको केन्द्र तोकिएको भाल्डाडाँ, अहिले बसिरहेको डुँडे र जग्गा खोजिएको स्थान सिमलचौरमा संघीय मन्त्रालयले तोकेको मापदण्ड अनुसार जग्गा नपुगेकाले केन्द्र र भवन अन्योल हुन पुगेकोले वडा नं. ३ को वडाध्यक्ष सिताराम पुलामीमगर (राम)को संयोजकत्वमा एक समिति गठन भएकाले उक्त समितिले गर्ने सिफारिस तथा दिने सुझाबको आधारमा अन्तिम निर्णय लिइने प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष सुभद्रा अधिकारी सहित वडा नं. ४, ५ र ६ को वडाका पदाधिकारीहरु, कार्यपालिकाको सदस्यहरु, गाँउपालिकाका योजना शाखा प्रमुख रामचन्द्र लामिछाने सहित विभिन्न विषयतगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सरोकारवाला नागरिकहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यावसायी, शिक्षक, विभिन्न संघसस्ँथाका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाको सहभागितामा दोश्रो चौमासिक अवधिसम्मको कार्यसम्पादन तथा सेवा प्रवाहको सन्दर्भमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web