नुवाकोटमा आगलागी हुदाँ एक घरमा पूर्ण रुपमा क्षति

फाल्गुन १५, २०७९ मा प्रकाशित | 421 views

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ८ पाचखलेमा खाना पकाउने ग्याँस बिस्फोट भएर आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ ।

स्थानीय विष्णुनाथ पुडासैनीको घरमा आज बिहान करीब ५ बजेतिर ग्याँस विस्फोट हुदाँ उत्पन्न आगोले भूकम्प अघि नै निर्माण भएको दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । ढुङ्गामाटोले बनेको घरमा आगो लागेसगैँ त्यहाँ रहेका भाडावर्तन, धनसम्पत्ति, लत्ताकपडाहरु जलेर नष्ट भएको वडा न.ं ८ का वडाध्यक्ष सुरेश चित्रकारले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार घरमा लागेको आगो स्थानीयबासी, प्रहरी, विदुर नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिएपनि सामाग्रिहरु भने सबै जलेर नष्ट भएको छ ।

घरमा खाना पकाउने तथा सामाग्रिहरु राख्ने गरिएको भएपनि मानिसहरु भने घरसगैँ रहेको अर्को पक्कि घरमा बस्ने भएकाले मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विष्णुनाथ पुडासैनीको आमाले हिजो बेलुका ग्याँस बालेर पानी तताएर खाएको र उक्त ग्याँस रातभर बलिरहेपछि बिहान ५ बजे सोही तातोको कारण विष्फोट भएको हुनसक्ने देखिएको छ । घटनामा क्षति भएको धनसम्पत्ति, आगो लाग्नुको कारणको सम्बन्धमा अनुसन्धान तथा लगत लिन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web