८६ वटा लाइसेन्स निलम्बनका लागि यातायात विभागमा

माघ ५, २०७९ मा प्रकाशित | 344 views

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडी चलाउँदा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।

चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवम् प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले त्यही ऐनको दफा ६० बमोजिमको कसुरअन्तर्गत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार पाँच पटकभन्दा बढीनियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बन हुन्छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक कारबाहीमा परेका छन् । यसैगरी दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, नौ जना नौ पटक, ११ जना आठ पटक, १३ जना छ पटक र १८ जना सात पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले नियम पालना गर्दै सुरक्षित यात्राको होस् भन्ने उद्देश्यले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web