काठमाडौँ । गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न पुनः निर्वाचन आयोगले ताकेता गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेश नगर्ने विजयी र पराजीत दुवै उम्मेदवार तथा राजनीतिक दललाई कानूनबमोजिम कारवाही र जरिवाना हुने चेतावनी दिदै समय अझै बाँकी रहेकाले खर्च विवरण बुझाउन स्मरण गराएको हो । नुवाकोटमा ६३ जना उम्मेदवार कायम रहेकोमा अझै १४ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको छ भने देशभरमा अझै करीब एकतिहाई अर्थात ३१ प्रतिशतले खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
तोकिएको निर्वाचन खर्चको अधिकतम् खर्चको सीमलाई निश्चित ढाँचामा विवरण पेश गर्न गएको मङ्सिर १२ गते निर्वाचन आयोगले निर्देशन दिएको थियो । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र भूगोलका आधारमा प्रतिनिधिसभाको प्रत्यक्षका लागि कम्तिमा २५ लाख देखि ३३ लाखसम्म र प्रदेशसभाको प्रत्यक्षतर्फ कम्तिमा १५ लाखदेखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको थियो ।
निर्वाचनको क्रममा नुवाकोटमा प्रदेससभा सदस्यका चारवटै क्षेत्रको उम्मेदवारले १७ लाख रुपैयाँसम्म र संघतर्फ निर्वाचन क्षेत्र नं. १ नं. का उम्मेदवारले ३१ लाख र क्षेत्र नं. २ का उम्मेदवारको २९ लाख खर्च विवरण तोकिएको छ ।
यस्तै, समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभाका लागि सम्बन्धित दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदारको सङ्ख्या अनुसार एक जना उम्मेदवारको लागी दुईलाख र प्रदेशसभातर्फ एक लाख पचास हजारसम्म चुनावी खर्च निर्धारण गरिएको थियो ।
निर्वाचन खर्च विवरण निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मतपरिणाम घोषणा भएको मितिले ३५ दिनभित्र बुझाउनुपर्ने भनिएको छ । त्यसको लागी तोकिएको समयसीमा सकिन अब केही दिनमात्रै बाँकी रहेकाले नबुझाउने उम्मेदवारलाई जरिवाना तिराउन आयोग बाध्य हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चेतावनी दिनुभएको छ ।
25.24¡ÆC