त्रिशुली । तोकिएको समय भित्रै निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई केही दिन कारबाहीको निर्णय गर्दै जरिवाना तोकेको निर्वाचन आयोगले कारबाहीमा पर्नेहरुको विवरण हिजो सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको प्रमुख र उपप्रमुख, तथा वडाअध्यक्ष र सदस्यहरु, गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा वडा सदस्यहरुहरुको विववरण जरिवाना शुल्क समेत तोकेर हिजो छुट्टाछुट्टै विवरण सार्वजनिक गरेको हो ।
आयोगले जारी गरेको सूचना अनुसार नुवाकोटको विदुर नगरपालिकाको मेयरका उम्मेदवार पाचजना र उपमेयरका उम्मेदवार पाँच जना रहेका छन् । चुनाव खर्च विवरण नबुझाउनेमा राप्रपाका प्रमुख र उपप्रमुख सहित अधिकांश साना दल र स्वतन्त्रका उम्मेदवारहरु रहेका छन् ।
यस्तै, बेलकोटगढीमा मेयरका उम्मेदवार १० जना रहेका छन भने उपमेयरका एक जना मात्रै रहेको निर्वाचन आयोगले जनाएको छ । खर्च विवरण नबुझाउनेहरुलाई अब जनही चार लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने भनिएको छ ।
यस्तै, गाँउपालिका तर्फ नुवाकोटमा रहेका दश गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष ९० जना रहेका छन् । त्यसमा केही निर्वाचित भएका उम्मेदवारहरु समेत रहेका छन् । उनीहरुको लागी जनही तीन लाख ५० हजार रुपैयाँको दरले जरिवाना रकम तोकिएको छ ।
यस्तै, नगरपालिकाको वडाध्यक्ष र वडासदस्यहरुको सङ्ख्या ४२७ जना रहेका छन् । निर्वाचन खर्च विवरण नबुझाउनेमा निर्वाचित भएका वडाध्यक्ष, सदस्य र सदस्यहुदै जिल्ला समन्वय समितिमा समेत निर्वाचित भएका जनप्रतिनिधिहरु समेत रहेको निर्वाचन आयोगले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । उनीहरुको लागी जनही दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
यस्तै, गाँउपालिकाको वडाध्यक्ष र वडासदस्यहरुको सङ्ख्या एक हजार १५६ जना रहेका छन् । निर्वाचन आयोगको विवरण अनुसार उनीहरु मध्ये केही निर्वाचित जनप्रतिनिधिहरु समेत रहेका छन् । गाँउपालिकाको वडाध्यक्ष र वडासदस्यहरुलाई समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जनही एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने जनाएको छ ।
नुवाकोटमा स्थानीयतहको उम्मेदवार भएका मध्ये तोकिएको समय भित्र निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवारको सङ्ख्या ३१२ जना मात्रै रहेका थिए । अहिले निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाउनेको नामावली बैशाख ३० मा भएको स्थानीयतहको उम्मेदवारहरुको मात्रै सार्वजनिक गरेको जनाएको छ । स्थानीयतहको निर्वाचन अन्तरगत उम्मेदवार भएर समयमै चुनावी खर्च विवरण नबुझाएको भनेर कारबाहीमा पर्नेमा एक हजार ६९४ जना रहेका छन् ।
स्थानीयतहको चुनाव अन्तरगत अझै कार्यपालिका सदस्यको उम्मेदवार र जिल्ला समन्वय समितिको उम्मेदवारहरुको विवरण सार्वजनिक गर्न बाकी रहेको जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमको अनुसार स्थानीयतह निर्वाचन अन्तरगत पालिकातह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति समेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्यो मध्ये तोकिएको समयसीमा भित्र खर्च विवरण बुझाउनेको सङ्ख्या ३१२ जना मात्रै भएकाले ढिलो गरेर बुझाउने ९४ जना र ढिलो भएको स्पष्टिकरण सहित बुझाउने २१३ जनालाई समेत निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (१) बमोजिम जरिवाना हुने आयोगल निर्णय हो ।
तोकिएको जरिवाना शुल्क ६ महिना भित्र नबुझाएमा गोरखापत्र दैनिकमा नामावली प्रकाशित गर्ने, ६ वर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन नपाउने देखि आयोगबाट गराउने आगामी सबै निर्वाचनमा भाग लिन अयोग्य ठहर गर्ने, उनीहरुको नामावली सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरुमा टाँस गरिने र तोकिएको जरिवानालाई सरकारी बाँकी सरह असुल गरिने भनिएको छ ।
21.05¡ÆC