त्रिशुली । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेका सडकहरुमा दशैँपर्व अगावै गाडी सुचारु हुने गरेर मर्मतसम्भार गरिने भएको छ ।
बर्खायामको भलबाढीले क्षति पुराएसगैँ अबरुद्ध भएका दर्जनौ सडकहरु दशैँपर्व अघि नै मर्मतसम्भार गर्न बजेट बिनियोजन गरिएको छ । पालिका भित्र रहेका अधिकांश सडक बर्खायाममा क्षति पुगेर अबरुद्ध बनेकाले दशैँअघि नै सुचारु गर्न बजेट बिनियोजन गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार यही सातादेखि काम सुरु गर्न नगरमा रहेका तेह्रवटै वडालाई रु.सात लाखको दरले बजेट उपलब्ध गराइएको छ । अहिले उपलब्ध गराइएको बजेट प्रयाप्त नभएपनि काम सुरु गर्न सहज बनाएकाले आवश्यकताको आधारमा बजेट अपुग भएको स्थानमा नगरले ‘विशेष सम्बोधन’ गर्ने नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
अघिल्लो स्थानीय सरकारले एकैपटक सुरु गरेको २५६ वटा सडक सहित थप भएका अधिकांश सडकहरुको निर्माण सम्पन्न हुन बाँकी रहेको छ । स्काभेक्टर (हेभी उपकरण) प्रयोग गरेर विस्तार गरिएका सडकहरु अधिकांश जेठको अन्तिम साता परेको अविरल वर्षात पछि अबरुद्ध हुदै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन अर्थात (डिपिआर) र प्राविधिक सर्वेक्षण नगरी उपभोक्ता समिति मार्फत विस्तार गरिएका सडकलाई दिगो बनाउन अब नगरले नेतृत्व लिने उपप्रमुख शिवप्रसाद दाहालले बताउनुभएको छ ।
कानून अनुसार उपप्रमुख अनुगमन समितिको संयोजक समेत हुने भएकाले दशैँपर्व अगावै सुचारु गर्न लागिएका सडकमा ढल–नालीको व्यवस्था, आवश्यकता अनुसार स्तरउन्नती, पार्खा लगाउने, दाँयाबाँया संरक्षण (टेवा वाल) दिएर विस्तार गरिएका सडकलाई टिकाउ बनाउन जोड दिने उपप्रमुख शिवप्रसाद दाहालले बताउनुभएको छ ।
बेलकोटगढी नगरपालिकाले अहिले प्रत्येक वडालाई रु.सात लाखको दरले छुट्टाएको बजेटले वडास्तरीय उपभोक्ता समिति बनाएर उपलब्ध भएसम्म श्रमिक र त्यो सम्भव नभएमा तथा ठूलो अबरोध हटाउन उपकरण प्रयोग गरेर जतिसक्दो चाडो काम गर्न जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभएको छ ।
साविकको ६ वटा गाविस मिलेर बनेको बेलकोटगढीको भूगोल ग्रामीण क्षेत्र र भक्तपुर जिल्लाभन्दा ठूलो छ । नगरपालिकाको क्षेत्रफल १५५ दशमलव ६ वर्ग कि.मि.मा फैलिएकाले विकासको पूर्वाधार विस्तार एवम् निर्माणमा विभिन्न चुनौतीहरु रहेका छन् ।
प्रयाप्त सम्भावनाको आशा लिएर विकासका अबरोधको सामना गरेर नगरपालिका अघि बढिरहेका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभएको छ ।
21.05¡ÆC