दिनेशको सुसाइड नोट : श्रीमतीको ज्यादति सहन सकिनँ, छोराछोरीको माया लागेर सँगै लैजान हत्या गरे

साउन १७, २०७९ मा प्रकाशित | 558 views

काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको पदमसालमा एकै परिवारका ४ जना मृत फेला परेको घरबाट प्रहरीले सुसाइड नोट फेला परेको छ। प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सुसाइड नोट फेला परेको हो।

तारकेश्वर–२ पदमसाल बस्दै आएकी १३ वर्षीया आशिका पाण्डे नियमितजस्तै सोमबार विद्यालय जानका लागि बस चढ्न नआएपछि स्थानीयले घरमा खबर गरेका थिए। घरमा बोलाउँदासमेत कसैको आवाज नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घरभित्र पसेर हेर्दा गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत फेला परेका थिए।

दिनेशकी श्रीमती सुनिता सहित १३ वर्षीय आशिका र ८ वर्षीया आशिककाे शव एउटै कोठामा विभत्स अवस्थामा फेला परेको थियो। आशिक र आशिकाको शव खाटमा र सुनिताको शव भुइँमा लडेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनीहरुको शरीरमा धारिलो वस्तु (हतियार) ले प्रहार गरेको चोट देखिएको छ। दिनेशको शव भने घाँटीमा डोरी (तार)ले कसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फेला पारेको १० पेजको सुसाइ नोटमा श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको र श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य भएको लेखिएको छ।

आफू १२ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा बसेको दिनेशले सुसाइड नोटमा लेखेका छन्। साउदीबाट कमाएको सबै पैसा घरमा श्रीमतीलाई दिएको, तर श्रीमती भने उक्त पैसा माइतीलाई बुझाउने गरेको सुसाइड नोटमा लेखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।

‘मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएँ, तर श्रीमतीले पैसाजति सबै माइतीलाई दिइन्। फर्केर घर आउँदा पनि ममाथि राम्रो व्यवहार भएन। केही कुरा गर्दा विवाद गर्थिन्, ममाथि कुटपिट गर्थिन्, प्रतिकार गर्दा घरेलु हिंसा र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिइन्,’ सुसाइड नोटमा उल्लेख विषय उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  

श्रीमतीले आफूविरुद्ध घरेलु हिंसा र ज्यान मार्ने उद्योगको उजुरी दिएर प्रहरी चौकीमा थुनाएको पनि दिनेशले सुसाइड नोटमा लेखेका छन्। श्रीमती सुनिताले आफूलाई वास्ता नगर्ने, तर अरु (परपुरुष)सँग घण्टौं फोनमा कुरा गर्ने गरेको पनि दिनेशले सुसाइड नोटमा लेखेको प्रहरीले जनाएको छ ।

‘ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने । मलाई वास्ता नगर्ने गर्थिन्,’ सुसाइड नोटमा उल्लेखित विषय उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

सुसाइड नोटमा दिनेशले १३ वर्षीया छोरी र ८ वर्षीया छोराको भने ‘माया लागेर आफूसँगै लैजान’ हत्या गरेको लेखेका छन्। घटनाको प्रारम्भिक अनुसन्धानबाट दिनेशले सुरुमा श्रीमती तथा छोराछोरीको हत्या गरे पछि आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ। मृत्युको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।

स्थानीयका अनुसार दिनेश र श्रीमती सुनिताबीच यसअघि पनि विवाद तथा झगडा हुने गरेको थियो। उनीहरुको झगडाको केस प्रहरी वृत्त बालाजुसम्म पुगेको प्रहरीले जनाएको छ। श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेका कारण सुनिताको माइती पक्षले उनलाई बेलायत पठाउन खोजेको थियो। सुनिता बेलायत जाने तयारीमा समेत थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web