मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण सम्पन्न

असार ३२, २०७९ मा प्रकाशित | 273 views

ताप्लेजुङ । ताप्लेजुङमा निर्माण भइरहेको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण कार्य पूरा भएको छ । ७३ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको ड्याम रहने क्षेत्र मित्लुङ र पावर हाउस रहने क्षेत्र थुम्बाबेसी सम्मको सुरुङ मार्ग निर्माण कार्य पूरा भए भएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रबन्धक मणिराज पोखरेलले दुईवटा कम्पनी मध्ये एकले थुम्बा क्षेत्रबाट र अर्कोले मित्लुङ क्षेत्रबाट सुरुङ खन्दै दुवैतीरबाट जोडिएपछि सुरुङमार्ग निर्माणको काम सम्पन्न भएको बताउनुभयो ।सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर लामो ६ मिटर चौडाइ र ४ मिटर उचाइको रहेको समेत प्रबन्धक पोख्रेलले बताउनुभयो । यसरी दुईतर्फबाट निर्माण गरिएको सुरुङमार्ग जोडिएपछि आयोजनाको ७१ प्रतिशत काम समेत सकिएको अयोजनाले दावी गरेको छ ।

अयोजनाका प्रबन्धक पोख्रेलले हेडवर्क्सको काम ८० प्रतिशत सकिएको साथै थिग्रयाउने पोखरीको काम केही बाँकी रहेको बताउनुभयो । आयोजना प्रमुख पोख्रेलले ३ सय मिटर लम्बाइ र एकसय मिटर चौडाइको सेटलिङ् बेसिनलाइ प्राकृतिक विपदका समस्याबाट जोगाउन अण्डर ग्राउण्ड गरिएको बताउनुभयो । फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिन र मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहेको विद्युत आयोजनाको फुङ्लिङ नगरपालिका ९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्र आयोजनाको मुख्य कार्यस्थल रहेको छ ।

सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान स्थल (हेडवर्क्स) केही परिवर्तन भएकोले उत्पादन क्षमता बढेर ७३ मेघावाट पुगेको आयोजना प्रमुख पोख्रेलले बताउनुभयो ।

सुरु गर्दा मापन गरिएको क्षमता अनुसार निर्माण प्रक्रिया अघि बढाएको तर, पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएको थियो । सो परिवर्तनले गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेगरी निर्माण कार्य भइरहेको छ ।

आयोजनाको फुरुम्बुस्थित मित्लुङ नजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् आयोजनाको स्वीचयार्डदेखि करिव १२ किलोमिटर लामो २२० केभीए क्षमताको प्रसारण लाइनमार्फत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणको ढुङगेसाँघु सब–स्टेशनमा पुर्‍याइ राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको तयारी छ ।

कोशी करिडोर नामले परिचित ढुङगेसाँघु सव–स्टेशनको काम पनि तीव्र गतिमा भइरहेकोले आयोजनाले लक्ष्य अनुसार उत्पादित बिद्युत सो सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कुनै समस्या नहुने देखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web