रुसले इन्धन कटौती गर्दा युरोपका १० वटा देश प्रभावित

असार ९, २०७९ मा प्रकाशित | 431 views

काठमाडौँ । रुसले इन्धन निर्यातमा कटौती गरेपछि युरोपेली युनियनका १० वटा देश प्रभावित भएका छन् । युक्रेनमा आक्रमण गरेबापत युरोपेली युनियनका देशले रुसमा आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पनि इन्धन निर्यातमा कटौती गरेको छ ।

विशेषगरी रुसले ग्यास निर्यातमा कटौती गर्दा १० वटा देशले प्रारम्भिक चेतावनी जारी गरेका ईयूका जलवायु नीति प्रमुख फ्रान्स टिमरम्यान्सले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । जर्मनीले आज मात्रै दोस्रो चेतावनी जारी गरेको छ । अर्थमन्त्री रोबर्ट हवेटले दोस्रो चेतावनीसँगै खपत कम गर्न आग्रह गर्नुभएको छ । जर्मनी एक तिहाइभन्दा धेरै ग्यासका लागि रुसमा निर्भर रहेको छ । युरोपमा इन्धन अभावका कारण प्रारम्भिक चेतावनी, चेतावनी र आपत्कालीन चेतावनी गरेर तीन चरणमा चेतावनी जारी गरिन्छ ।

रुसले पोल्यान्ड, बुल्गेरिया, नेदरल्यान्ड्स, डेनमार्क र फिनल्यान्डलाई रुसकै मुद्रा रुबलमा भुक्तानी गर्न भन्दै पहिले नै ग्यास कटौती गरिसकेको छ । गएको हप्ता नर्ड स्ट्रिम १ पाइपलाइनबाट हुने निर्यातमा रुसले ४० प्रतिशत कटौती गरेपछि अभाव झनै बढेको खबरमा उल्लेख छ ।

रुसले ऊर्जालाई बार्गेनिङको हतियार बनाएको युरोपेली देशको आरोप रहेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपेली देशमा आवश्यक ग्यासको ४० प्रतिशत निर्यात गर्थ्याे, अहिले रुसले निर्यातमा व्यापक कटौती गरेपछि केही देशले कोइला पावर प्लान्टको प्रयोग बढाएका छन् तर यसले जलवायु परिवर्तनमा असर गर्ने भएकाले यसलाई समस्या समाधानको अस्थायी उपाय मात्रै भनिएको छ ।

आउँदो जाडोयामका लागि युरोपका देशले पूर्ण क्षमतामा ग्यास भण्डारण गर्ने कोसिस गरे पनि धेरै देशले अहिलेम्म औसतमा ५५ प्रतिशत मात्रै भण्डारण गरेकाले निकट भविष्यमै सङ्कटको सामना गर्नुपर्ने सङ्केत देखिएको रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web