रसुवागढी नाकामा जालसाजी गरी टोकन लिने गाडीलाई २ महिनासम्म निलम्बन गरिने

असार ८, २०७९ मा प्रकाशित | 306 views

रसुवा । रसुवागढी नाकामा जालसाजी गरी टोकन लिएको पाइएमा गाडीलाई दुई महिनासम्म निलम्बन गरिने भएको छ । रसुवागढी नाकाबाट सामग्री ढुवानी गर्ने कन्टेनरहरूले टिमुरे प्रहरी चौकीमा जालसाजी गरी टोेकन लिएको पाइएमा तथा भन्सार यार्डमा विभिन्न बहानामा चलखेल खरेर गाडी काठमाण्डौ गएको पाइएमा निलम्बन गरिने भएको हो ।

रसुवागढीदेखि काठमाण्डौसम्म सञ्चालन हुने ट्रक कन्टेनर व्यवसायीहरूको आज बुधवार भएको भेलाले योसहित विभिन्न पाँच बुँदे निर्णय गरेको हो । रसुवागढीबाट भन्सार यार्डमा सामान लिएर आएको कन्टेनर यार्डमा खाली गर्न परेको अवस्थामा त्यो गाडीको भाडा पाँच हजार रुपैयाँ कायम गरी भोलिपल्ट पहिलो नम्बर राखी रसुवागढीमा लोड गर्न पठाउने निर्णय भएको छ । भन्सार यार्डमा अलपत्र परेका सामानहरू गोदाम गर्न पालो नआएको गाडी व्यवसायीले निर्णय गरेर उपलब्ध गराउनुपर्ने छ । त्यो गाडीमा गोदाम गरेको सामान भरेको अवस्थामा क्युको गाडी लगेर लोड गरी काठमाण्डौ पठाउने व्यवसायीले बताएका छन् ।

गएको जेठ २५ गतेदेखि भन्सार यार्डबाट सामान लोड भएर जाने कन्टेनरले गाडीको पाटपुर्जा र इन्धनमा भएको मूल्यवृद्धि अनुसार रेडिमेडको भाडा एक लाख आठ हजार र स्याउ, लसुन लगायतको भाडा ८९ हजार रुपैयाँ कायम भएकोमा केही गाडीले पाएको र केहीले नपाएको गुनासो आएपछि बढेको भाडादर अनुसार चलानी बनाएर मात्र यार्डबाट गाडी पठाउने निर्णय भएको छ ।

यसैगरी डिटेनको सम्बन्धमा लोड भएको कन्टेनरले १० दिनपछि प्रतिदिन तीन हजार रुपैयाँ लिँदै आएकोमा केही गाडीले नपाएको गुनासो गरेपछि डिटेन चार्जलाई प्रभावकारी बनाएर लागू गर्ने भेलाले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web