माथिल्लो त्रिशूली-३ बी आयोजनाको निर्माणले लियो गति

फाल्गुन २५, २०७८ मा प्रकाशित | 595 views

काठमाडौँ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ । कोभिड-१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ ।

आयोजनाको निर्माण असोज २०८० भित्र -सेप्टेम्बर २०२३ सम्पन्न गर्ने लक्ष्यकासाथ काम धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड-१९का कारण र्फकन र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्प भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड-१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वर् अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध-सञ्चालक मोहन प्रसाद गौतमले ३८०५मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये २८६५ मिटर खनिएको बताए ।

‘सतही विद्युत गृह खन्ने कार्य सम्पन्न भई संरचनाहरुको कंक्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरुको जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यकासाथ काम भइरहेको छ,’ गौतमले भने ।

चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको थिएन, केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरु ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएको उनले बताए ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी ) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्ने छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी -डिसेन्डर) लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।

उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार-त्रिशूली ३ बी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web