स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति गठन

माघ २८, २०७८ मा प्रकाशित | 553 views

काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध २४ वटा दलहरूले आन्दोलन घोषणा गरेका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको विभिन्न २४ दलका नेताहरूको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिनु घोर अन्यायपूर्ण भएको ठहर गरेको छ ।

बैठकले स्थानीय तह निर्वाचनमा सबै दलहरूले समान रूपमा आफ्नो चुनाव चिन्ह प्रयोग गर्न पाउनुपर्ने विषयमा दबावमूलक कार्यक्रम गर्न ‘चुनाव चिन्ह सङ्घर्ष समिति’ गठन गरेको छ । राष्ट्रिय मान्यता प्राप्त नगरेका अरू दललाई पनि यो संघर्ष समितिमा सहभागी गराइने विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।

शुक्रबारको बैठकमा आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (वी. पी.) सहभागी थिए ।

त्यस्तै, नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी पनि शुक्रबारको बैठकमा सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web