त्रिशूली । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको शुभेच्छुक सँस्था जनपत्रकार संगठन नेपाल–नुवाकोटले जिल्लामा कार्यरत पत्रकारसंग सम्बन्धित संघ–संगठनलाई पत्रकारिताको बिग्रदै गएको पेशागत इमान्दारिता सुधार सहितको विभिन्न सातबुँदे ज्ञापनपत्र बुझाएको छ ।
जनपत्रकार संगठनका जिल्ला अध्यक्ष रोजिना नेपालीले हस्ताक्षर गरेर नुवाकोटका पत्रकारहरु आबद्ध रहेका विभिन्न संघसंगठनलाई बुझाएको ज्ञापनपत्रमा पत्रकारहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, पेशागत सुरक्षा र रोजगारको ग्यारेण्टी हुने व्यवस्था कार्यान्वयन गर्न मागगर्दै कोरोनाको कारण रोजगारबाट निकालिएकालाई पुर्नबहाली गर्न र सेवा तथा सुविधामा गरिएका कटौतीहरु पूर्ववत सरह बनाउन माग गरिएको छ ।
यसैगरी, पत्रकारहरुको सदस्यता सुद्धिकरण गरेर पत्रकार महासंघलाई मर्यादित र जिम्मेवार बनाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ । जिल्लामा पत्रकारिता गर्दै आएकाहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता उपलब्ध गराउनुपर्ने, पत्रकार महासंघले परिचालन गर्ने विदेशी सहायता बन्द गरेर आत्मनिर्भर तथा स्वदेशी सहायता परिचालन गराउनुपर्ने, समानुपातिक बिज्ञापन प्रणाली कायम गराउनको लागी सँस्थागत पहल गर्नुपर्ने, पत्रकारहरुको क्षमता विकासको लागी तालीम तथा प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, अनलाइन सञ्चार माध्यम र भिडियो मार्फत पत्रकारिता गर्नेहरुको लागी पछिल्लो समयमा बढिरहेको सुरक्षा चुनौतीलाई संघसंगठनहरुले गम्भीर रुपमा लिनुपर्ने, पत्रकारहरुको स्वास्थ्य बीमा, जीवन बिमा र प्रयोग गर्ने उपकरणहरु क्यामरा, रेकर्डर लगायतका साधनको बीमा हुनुपर्ने लगायतका विषय समावेश गरेर ज्ञापनपत्र बुझाइएको छ ।

नुवाकोट जिल्लामा पछिल्लो समयमा पत्रकारहरुबाट पेशागत जिम्मेवारी अनुसारको क्रियाकलाप नगरेको, सूचनाको सत्य र यथार्थ सम्प्रेषणमा पेशागत जिम्मेवारी बिर्सदै पत्रकार पेशालाई नै बदनामा बनाउदै लगिरहेको, बिज्ञापनमुखी सञ्चारमाध्यम सञ्चालनमा केन्द्रित हुन थालेको, आचारसंहिताको पालना नभएको भन्दै पत्रकारलाई जिम्मेवार बन्न र बनाउन पत्रकारहरु अबद्ध रहेको सञ्चारमाध्यम, संघसंगठनलाई ज्ञापनपत्र बुझाइएको जनपत्रकार संगठन नेपाल–नुवाकोटका अध्यक्ष रोजिना नेपालीले जानकारी दिनुभएको छ ।
30.86¡ÆC