काठमाडौँ । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले मागेजति विद्युत उपलब्ध गराउने भएको छ ।
प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्यअनुसार काम भएको खण्डमा चालु आर्थिक वर्षमा नै थप एक हजार ३०० मेगावाट बढी बिजुली उपलब्ध हुन्छ । त्यसो हुँदा प्रणालीमा तीन हजार ३०० मेगावाट बराबरको बिजुली प्रवाह हुन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल रातको समयमा झण्डै ४०० मेगावाट बिजुली जगेडामा रहेको छ । यसो भन्नुको अर्थ खेर गइरहेको छ । यस्तै दिनको समयमा पनि झण्डै २५० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ । प्राधिकरणले बढी भएको बिजुली भारत निकासीको प्रयास नगरेको होइन । तर, नेपालमा आउन दिने, भारतमा निकासी हुन नसकेको अवस्थामा प्राधिकरणले देशभित्रै बिजुलीको खपत बढाउन लागेको हो ।
जानकारहरुका अनुसार एक युनिट बिजुली लगानी गर्दा झण्डै ९० देखि १०० रुपैयाँ बराबरको आर्थिक उपार्जन हुन जान्छ । यस आधारमा बिजुलीलाई कच्चा पदार्थको रुपमा समेत लिइन्छ । उद्योगी व्यवसायीका अनुसार बिजुलीको सहज उपलब्धताले अर्थतन्त्रमा बहुआयमिक प्रभाव पर्दछ । प्राधिकरणले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगी तथा व्यवसायीले मागेअनुसारको बिजुली उपलब्ध गराउने भएको छ । त्यसका लागि के कति मात्रामा बिजुली चाहिएको हो भनेर आवेदन दिन समेत भनिएको छ ।
वर्षाको समयमा नेपाल बिजुलीमा आत्मनिर्भर भइसकेको छ । आगामी डेढ वर्षभित्र हिउँदमा समेत आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । प्राधिरकणले हाल वर्षाको समयमा देशमा विद्युतको मागभन्दा उत्पादन बढी भई खेर जाने अवस्था सिर्जना भएको भन्दै उद्योगीलाई थप बिजुली उपलब्ध गराउन सकिने उल्लेख गरेको छ । प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताका प्रसारणलाइन निर्माण गरिरहेकाले १३२ केभीलाई पनि वितरण लाइनमा विस्तार गर्न चाहेको हो । असोज १४ गते विद्युत विकास विभागले आयोजना गरेको विद्युत महसुलसम्बन्धी सार्वजनिक सुनुवाइका क्रममा समेत कार्यकारी निर्देशक घिसिङले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगीलाई गुणस्तरीय बिजुली उपलब्ध गराइने जानकारी दिएका थिए ।
15.25¡ÆC