कमजोर अनुसन्धानलका कारण अपहरणका आरोपीले पाए सफाइ

अशोज १०, २०७८ मा प्रकाशित | 414 views

काडमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १५ पुसमा सर्लाहीका कुमार बुढाथोकी उर्फ सोले कुमारलाई पक्राउ गर्‍यो । श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक महत्वपूर्ण सदस्यलाई पक्राउ गर्नुलाई सीआईबीले सफलताका रुपमा देखाएको थियो ।

तर भारतको दार्जिलिङबाट पक्राउ परेका तिनै आरोपी बुढाथोकीले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका छन् । ५ असोजमा न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले अपहरण तथा शरीर बन्धकको प्रतिवादी भएको प्रमाणित हुने प्रमाण नै पेश नभएको जिकिर गर्दै बुढाथोकीलाई सफाइ दिएको हो ।

प्रहरीले उनी आरोपी भएको प्रमाणित गर्न बुढाथोकीको भिडियो बयान र पीडितको सनाखतलाई प्रमाणका रुपमा पेश गरेको छ । तर बुढाथोकीले अदालतमा आफू भारतीय नागरिक भएको दाबी गर्दै प्रकाश क्षेत्री नामको आधार कार्ड र जन्मदर्ता देखाए, जसलाई आधार बनाएर न्यायाधीश निरौलाले सफाइ दिए ।

‘अभियोग पत्र पेश गर्दा उनी नेपालको यो स्थानमा बस्ने वा नेपालको सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. २ का वासिन्दा हुन् भन्ने प्रमाण पेश भएको छैन’ फैसलाको संक्षिप्त विवरणमा भनिएको छ, ‘उनी नेपालको नागरिक हो भन्ने प्रमाण नभई व्यक्तिको पहिचान नै भएको देखिँदैन। यस्तो अवस्थामा शरीर बन्धक तथा अपहरण गर्ने जस्तो अभियोगमा अभियुक्तको स्पष्ट पहिचान मिसिलमा पेश गर्न नसक्दा यी प्रतिवादीको हकमा पुष्टि हुन नसक्ने ठहर हुन्छ ।’

सीआईबीका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरी प्रहरीले यही कमजोरी गरेको बताउँछन् । ‘अनुसन्धान बयानमुखी हुनु हुँदैन भनेर पटकपटक भनिरहेको कुरा हो’ पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) मल्ल भन्छन्, ‘तर यो घटनामा पनि त्यही गल्ती दोहोरियो, प्रहरीले बयानको भर परेर मिसिल बुझायो, आरोपीले कागजी प्रमाण देखाएपछि सफाइ पाए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web