जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिड गाउँमा तीन वर्षअघि १० लाख बजेटमा खानेपानीको ट्यांकी बन्यो। पाँच लाख पाइपलाइनमा खर्च भयो। अहिले त्यो ट्यांकी र पाइपलाइन प्रयोग गर्न नमिल्ने भएका छन्। ट्यांकीमा पानी नै खस्दैन।
खानेपानीका संरचना बनाएर हरेक वर्ष बजेट खर्च गर्ने, तर पानी नहुने भएपछि मालाभिड माथिल्लो बस्तीका नागरिकलाई समस्या भएको छ। यहाँका बासिन्दाले खोला तथा खोल्साको पानी पिएर गुजारा चलाइरहेका छन्।
स्थानीय गणेश पण्डित भन्छन्, ‘त्यो संरचना बनाएर बजेट मात्रै खेर गयो, पानी खान पाएनौँ । धेरै वर्ष पहिले बनेका सानोसानो ट्यांकी छ। त्यही पनि जीर्ण भइसक्यो।’ त्यही पानी पनि अपुग भएकाले खोल्साको पानी प्रयोग गर्न बाध्य भएको उनले गुनासो गरे।
चार हजार दुई सय ७१ घरधुरीका २० हजार आठ सय ८४ जनसंख्या रहेको नगरपालिकाको एक हजार ६ सय घरधुरीमा मात्र खानेपानीका धारा जडान गरिएको छ। खानेपानी धारा जडानका लागि खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा अहिले पनि ७०–८० निवेदन आइरहेका छन्।
नगरपालिकामा अहिले तीव्र गतिमा जनसंख्या वृद्धि हुँदै गएको छ। बर्सेनि सयभन्दा बढी घर थपिइरहेकाले सबैलाई खानेपानी पुर्याउन नसकिएको समितिका महासचिव मीनबहादुर थापाले बताए। उनले भने, ‘सबै घरधुरीमा पर्याप्त मात्रामा खानेपानी पुर्याउने उद्देश्यका साथ ट्यांकी निर्माण भए पनि अहिले कतिपय ट्यांकी प्रयोगविहीन भएका छन्।
करोडौँ खर्च गरेर बनिरहेको फिल्टर ट्यांकी आफूहरूका लागि कुनै अर्थ नभएको स्थानीय धर्मराज बोहरा बताउँछन्। उनी भन्छन्, ‘हामी खानेपानी अभावले भाैँतारिएका छौँं। करोडौँ रकम खर्च गरेर फिल्टर ट्यांकी बन्दै छ। बर्खाको समयमा नदीकै धमिलो पानी खाने गरेका छौँ । हाम्रा लागि त्यो फिल्टर ट्यांकीले कुनै अर्थ राखेको छैन।’
यस्तै वर्षौँदेखि निर्माण गर्न थालिएका ठिन्केस्थित पानी फिल्टर ट्यांकी अहिलेसम्म प्रयोगविहीन भएको छ। ट्यांकी प्रयोगमा नआउँदै जीर्ण बन्दै गएको छ। संघीयतापछि खानेपानी कार्यालय फेरबदल र बजेट अभावका कारण समस्या आएको खानेपानी उपभोक्ता समिति जुम्लाले जनाएको छ।
यता खानेपानी कार्यालय जुम्लाका सबइन्जिनियर प्रकाश परियार भन्छन्, ‘खानेपानीका संरचना बनेका छन् । यो वर्ष ९० प्रतिशत काम सम्पन्न गर्ने योजना बनाएका छौँ। जनशक्तिको पनि अभाव भएकोले कार्य सम्पादनमा समस्या भएको हो। ‘अर्को कुरा फिल्टर ट्यांकी नयाँ आयोजना भएकोले पनि विज्ञको सल्लाहमा काम गर्ने तयारी गरेका छौँ,’ उनले थपे, ‘फिल्टर ट्यांकीका लागि बजेट आउँछ, हामी खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिलाई सम्झौता गरेर काम गर्न दिन्छौँ।
खानेपानी उपभोक्त समितिका महासचिव थापाले प्राप्त खानेपानीका लागि ट्यांकीका संचना बनेको बताए। उनले भने, ‘चार लाख लिटर क्षमताको ट्यांकी बने पनि मूल पाइपलाइनका काम बाँकी रहेको छ।’ उनका अनुसार यो आर्थिक वर्षमा काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ।
20.54¡ÆC