निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

अशोज ३, २०७८ मा प्रकाशित | 310 views

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्यसमितिको आठौं बैठकबाट ११औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको जानकारी दिएको हो।

कार्यक्रममा संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले छानबिनका लागि प्रहरीसमक्ष निवेदन दिएको बताए। उनले अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्ष नै भागेको भन्दै जिम्मेवारी पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुनसक्ने आशंका गरे। ‘संगठनबाट भागेका साथीहरुले नै एउटा कोठमा बसेर निर्णय परिवर्तन गरेका छन्, यसमा भ्रममा नपर्न आग्रह गर्दछु,’ अध्यक्ष देवकोटाले भने।

कार्यक्रममा सहसंयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउनका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको बताए। उनले कोरोनासहित विभन्न कारणले समयमै हुनुपर्ने राष्ट्रिय अधिवेशन हुन नसकेको बताउँदै ११औँ राष्ट्रिय अधिवेशन तय गरेको बताए।

त्यस्तै अर्को पक्षले (माधव नेपाल समूह) पनि कार्की बैंक्‍वेटमा पत्रकार सम्मेलन गर्दै संगठनको विधि, पद्धति र नीतिविपरीत गइ पदमा रहेका व्यक्तिहरुले पदको दुरुपयोग गरेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा संगठन महासचिव शरणकुमार गुरुङले कुनै पार्टी र नेताको मतियार भइ काम गरेको भन्दै संगठनका अध्यक्ष केदारप्रसाल देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष ललिकबहादुर महर्जन, उपाध्यक्ष रेणुका केसी, उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष नौतम पोखरेल, उपाध्यक्ष भवानी दाहाल र सह कोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको बताए।

उनले रिक्त अध्यक्ष पदमा रेवन्त गौतम, वरिष्ठ उपाध्यक्षमा मोहन गिरी, उपाध्यक्षमा सीता गुरुङ, वेदप्रसाद खतिवडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट, दयाराम खत्री र महासचिवमा शरणकुमार गुरुङ, उपमहासचिवमा भवानी खतिवडा, सचिवमा प्रकाश राई, मधु मिजार, ओम कठायत र सहकोषाध्यक्षमा दिनेश लम्साललगायतलाई नियुक्त गरेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web