काठमाडौँ । १४ औँ महाधिवेशनअन्तर्गत कांग्रेसले ५७ जिल्लाको वडा तहको अधिवेशन गरेको छ । त्यसमध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अधिवेशन भने विवादित छ ।
अहिलेसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन भइसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी २० जिल्लामध्ये ७ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्त भएर समितिले प्रकाशितसमेत गरिकसको छ ।
अन्य १३ जिल्लामा भने अधिवेशन हुने वा नहुने अनिश्चित छ । ‘प्रदेश २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्य हामीलाई प्राप्त भएको छैन । सदस्यको नामावली नै त्यहाँको मतदाता हुन् । त्यसैले अधिवेशन हुने कुरै भएन,’ उनले भने, ‘त्यसबाहेक डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीको पनि नामावली हामीलाई प्राप्त भएको छैन ।’
निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली प्रकाशित भएका ७ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ । ती जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ । काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा ५ असोजमा वडा अधिवेशन गर्ने गरी निर्वाचन अधिृकतहरु खटाइएको सचिव श्रेष्ठले जानकारी दिए ।
तर, सदस्यको नामावली नै टुंगो नलागेका १३ जिल्लामा भने कहिले अधिवेशन हुने भन्ने निश्चित छैन । ‘नामावली प्राप्त हुने वित्तिकै प्रकाशित गर्छौँ । त्यसपछि ती जिल्लामा निर्वाचन अधिकृतहरु परिचालन भएर समय रहेको अवस्थामा ५ असोजमै अधिवेशन हुन्छ,’ उनले भने ।
क्रियाशील सदस्यताको विषयलाई लिएर रौतहटसहित जिल्लाका नेता कार्यकर्ताले अहिले पनि केन्द्रीय कार्यालयमा धर्ना र अनसन जारी राखेका छन् । नेताहरुले सदस्यताको विषयलाई त्यहीकारण पटक पटक महाधिवेशन प्रभावित भइसक्दा पनि टुंगो लगाउन सकेका छैनन् ।
क्रियाशील सदस्यकै टुंगो लगाउन नसकेपछि कांग्रेसले १८ भदौका लागि तोकेको वडा अधिवेशन समयमा गर्न नसकेर ५ असोजका लागि वडा अधिवेशनकै अर्को मिति तोकेको हो । त्यसपछि ९ असोजमा पालिका तहको अधिवेशन गर्ने कार्यतालिका छ ।
23.12¡ÆC