आजदेखि सुपथ मूल्य पसल सञ्चालन

अशोज १, २०७८ मा प्रकाशित | 459 views

काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।

सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको हो । कम्पनीले काठमाण्डौ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा तथा साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।

खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ तथा पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरकाे तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web