मिटरव्याजी ऋणको पासोमा सोझासिधा जनता

भदौ ३१, २०७८ मा प्रकाशित | 311 views

सप्तरी । सुरुङ्गा नगरपालिका-४, सप्तरीकी सबुरदेवी चौधरीले श्रीमानलाई विदेश पठाउन साहू रामदेव साहसँग २ लाख ५० हजार रुपैयाँ ऋण लिइन् ।

उनले २०७५ सालमा १४ कठ्ठा जग्गा दृष्टिबन्धक राखेर २४ प्रतिशत व्याजदरमा ऋण लिएकी थिइन् । विदेश गएका श्रीमानले रकम पठाउन थालेपछि आफूले २०७७ सम्म साहू रामदेवलाई झण्डै ६ लाख रुपैयाँ बुझाइसकेको उनको दाबी छ ।

तर चौधरीले दृष्टिबन्धक राखेको जग्गा फिर्ता पाएकी छैनन् । ‘अहिले त भेट्नै मानेका छैनन्,’ चौधरी भन्छिन्, ‘फोन गर्दा पनि कुनै मतलब नै राखेका छैनन् ।’

खडक नगरपालिका-८ ढोलबज्जाका बच्चालाल साहलाई कल्याणपुरमा १२ कठ्ठा १६ धुर जग्गा जग्गा खरीद पैसा पुगेन । ४ लाख २९ हजार रुपैयाँ ऋण दिन साहू रामदेव तयार भए । तर खरीद गरिएको जग्गा आफ्नो नाममा राख्न लगाए । १७ कात्तिक २०६६ मा ऋण लिएका उनले ४ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम बुझाइसके । ‘अहिले थप ३२ लाख मागिरहेका छन्’ बच्चालाल भन्छन् ।

बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीका शितल यादवले पनि छोरालाई विदेश पठाउन रामदेवसँगै दुई बर्ष अगाडि २ लाख ७० हजार ऋण लिएका थिए । ऋण लिएको डेढ बर्षभित्रै आफ्नो एक कठ्ठा बेचेर रामदेवलाई ८ लाख रुपैयाँ तिरिसकेका छन् । तर दृष्टिबन्धक दिएको १२ कठ्ठा जग्गा अझै पाएका छैनन् ।

सबुरदेवी, बच्चालाल र शितल प्रतिनिधि पात्र मात्र हुन्, सप्तरीको ग्रामीण क्षेत्रका सोझासाझा जनता साहू रामदेवको ऋणको पासोमा परेका छन् । तत्कालीन कल्याणपुर गाविस निवासी रामदेवले माओवादी सशस्त्र विद्रोहको समयमा सदरमुकाम राजविराज आएर कारोबार थालेका थिए । २ प्रतिशत व्याज लिन्छु भनेर दृष्टिबन्धक राखेको जग्गा आफ्नो नाममा रजिष्ट्रेशन गराउने र चर्काे व्याज लिएर ठगी गर्ने गरेको स्थानीयको आरोप छ ।

रामदेवले जग्गा दृष्टिबन्धक नगरी ऋण नदिने बताउँछन् बोदे बर्साइन नगरपालिका ५ का तैयब अली ।

अलीले पनि २ भदौ २०७१ मा १ कठ्ठा १८ धुर जग्गा धितो राखी ३८ लाख ऋण लिएका थिए । यो ऋण वापत पटक-पटक गरी ४५ लाख २० हजार तिरिसक्दा पनि साहू रामदेव नाममा गरिएको जग्गा फिर्ता नपाएको अलीको गुनासो छ । ‘अझै ५० लाख मागिरहेका छन्,’ अली भन्छन्, ‘साह्रै अन्यायमा परेको छु ।’

कतिपय ऋणी भने आफैं सचेत हुन थालेका छन् । उनीहरुमध्ये एक खडक नगरपालिका-६ का छेदीलाल पासवानका अनुसार सुरुङ्गा नगरपालिकाको कदमाहामा इँटा उद्योग सञ्चालन गर्न १२ कठ्ठा १९ धुर जग्गा रामदेवको नाममा राखेर २०७३ सालमा १६ लाख रुपैयाँ ऋण लिए । उनले २२ असार २०७३ मा ६ लाख, २८ असोजमा ६ लाख र २४ कात्तिकमा ४ लाख गरी १६ लाख ऋण लिएका थिए ।

पासवानले कल्याणपुरको ४ कठ्ठा १९ धुर र सुरुङ्गा नगरपालिकाको ८ कठ्ठा जग्गा रामदेवको नाममा पास गरेका थिए । उनले ऋण तिर्न हिसाब किताब मागे, तर रामदेवले मानेनन् । पछिल्लो पटक १९ भदौमा साहूका मुन्सी (हरहिसाब राख्ने व्यक्ति) ले ७६ लाख ६२ हजार ३ सय ९० हिसाब देखाएको पासवान बताउँछन् । ‘३ बर्षमा १६ लाखको व्याज यत्रो देखाउनु अन्याय होइन ?’ उनी भन्छन् ।

मिटर व्याजी साहले यीबाहेक अरु २२ जनाको जग्गा फिर्ता गर्न मानेका छैनन् । ‘यस्ता अरु व्यक्ति पनि हुन सक्छन्’ उनीसँग ऋण लिएका छेदीलाल पासवान भन्छन्, ‘अहिले हामी २२ जना सम्पर्कमा आएर एकत्रित भएका छौं ।’

मिटर व्याजी रामदेवले ऋण दिएर महिलामाथि गलत दृष्टि राख्ने गरेको आरोप लागेको छ ।

शम्भुनाथ नगरपालिका-११ कि ललिता मण्डलले तीन बर्ष अगाडि ४ लाख रुपैयाँ ऋण लिएकी थिइन्. । विदेशमा भएका श्रीमानले पठाएको रकमबाट १६ कठ्ठा जग्गा खरिद गर्न लागेकी उनले अपुग रकमका लागि ऋण लिएकी हुन् । त्यसका लागि उनले आफूले किनेको जग्गा नै दृष्टिबन्धक राखिन् । त्यसयता आफूले २५ लाख रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको ललितले बताइन् । ‘जग्ग्ाा फिर्ता माग्न जाँदा रामदेवले संवेदनशील अंग छुन खोजे । त्यो डरले फेरि जान सकिरहेको छैन,’ उनले भनिन् ।

मटरब्याजी रामदेवबाट पीडित भएकाहरुले संघर्ष समिति नै बनाएका छन्, जसको संयोजक तैयब अली छन् । संघर्ष समितिले रामदेवबिरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web