वाग्मतीमा ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए शपथ

भदौ २३, २०७८ मा प्रकाशित | 473 views

मकवानपुर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधवार थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त गर्नुभएको छ । दश जनाले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् ।

नेकपा एमालेले भागबन्डा मिलाउनका लागि पहिलो पटक प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाएको छ । अल्पमतमा रहनुभएकी मुख्यमन्त्री शाक्यले ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नवगठित मन्त्रिपरिषदमा डाक्टर अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएको छ । विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।

प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । नियुक्त भएका ६ मन्त्रीलाई प्रदेश प्रमुख यादव शर्माले शपथ ग्रहण गराउनुभयो ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्यमन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री शाक्यले शपथ ग्रहण गराउनुभयो ।

बुधवार नियुक्त भएकासँगै वाग्मती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । केही सांसदले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै वाग्मती सरकार अल्पमतमा छ ।

गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बन्नुभएकी शाक्यको सरकार भने अल्पमतमा परिसकेको छ । वाग्मतीका ५६ मध्ये १३ सांसद एकीकृत समाजवादीमा गएपछि उहाँको सरकार अल्पमतमा परेको छ । उहाँले अब एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web