वामदेव गौतमले राजीनामा दिनुको कारण के हो ?

भदौ १८, २०७८ मा प्रकाशित | 544 views

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्। गौतमले स्वकीय सचिवमार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामापत्र बुझाएका हुन्। पार्टी उपाध्यक्ष र पार्टीका सबै जिम्मेवारी त्यागेको राजीनामापत्रमा गौतमले उल्लेख गरेको तामाङले जानकारी दिए। 

ओलीमाथि के-के छन् गौतमका आरोप ?
राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को घोषणापत्रलाई पनि लागू नगरेको भन्दै उनले भनेका छन्, ‘तपाईंले गर्नुभएको कामहरुलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’
जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुईतिहाइको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।
कार्यशैली सुधार गर्न आफूले पटक-पटक सुझाव दिएको भन्दै गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’ आफ्नो गलत नीति र विचारअनुसार नचल्दा समकक्षी नेताहरुलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्सकासनसम्म गर्ने स्वेच्छाचारी तथा निरंकुश शैली अंगालेको गौतमको आरोप छ ।
गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईंले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो ।’
अब के गर्छन् गौतम ?
एमालेमा अन्तरसंघर्ष चर्किरहेका बेला गौतमले पटकपटक माधव नेपालले पार्टी फुटाए साथ दिने अभिव्यक्ति दिएका थिए । नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । तर लामो समय नेपालसँगै रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बस्ने निर्णयमा पुगेका छन् ।
गौतमले पनि बोली फेरेका छन् । उनले एकीकृत समाजवादीमा आउन शर्त अघि सारेका छन् । बिहीबार मात्र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेका गौतमले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयताबारे पुनर्विचार गर्नुपर्ने लगायतका शर्त राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web