जनकपुरधाम । गत साउन १४ गते प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्की नामको फेसबुक एकाउन्टबाट दोलखाका भरत श्रेष्ठलाई ‘फ्रेन्ड रिक्वेस्ट’ गयो । ‘डीएसपी’जस्तो मान्छेले साथी बन्न अनुरोध गरेपछि श्रेष्ठले अस्वीकार गर्ने कुरै भएन । उनले तुरुन्तै ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरे ।
फेसबुकमा शाथी बनेकाे केही बेरमै कुराकानी हुन थाल्याे । कुरा गर्दै जाँदा ‘कार्की’ले ‘गुगल पे’ छ कि छैन ? भनेर सोधे । श्रेष्ठले आफूसँग भएकाे जवाफ फर्काए । ‘तर, किन होला सर’ भनेर प्रश्न गरे ? ‘कार्की’ले अत्यावश्यक भएकाे भन्दै २५ हजार जति पठाइदिन आग्रह गरे । उनले अर्कोदिनको बिहान फिर्ता गरिदिने आश्वासन पनि दिइरहेका थिए ।
श्रेष्ठले ‘कार्की’को अनुरोध अस्वीकार गर्न सकेनन् । पैसा पठाउन एकाउन्ट नम्बर मागे । ‘कार्की’ले ६३९१३७५१२८ नम्बरको खाता पठाए । श्रेष्ठले कुनै प्रश्न गर्दा अत्यावश्यक रहेको भनेर जवाफ आउँथ्यो । श्रेष्ठले ‘कसको नम्बर हो ? सर’ भनी प्रश्न गरे । ‘कार्की’ले साथीको नम्बर हो जवाफ दिन्थे । उनले आफ्नो व्यक्तिगत एकाउन्टको सरभर डाउन रहेको जवाफ दिइरहेका थिए । श्रेष्ठलाई शंका लाग्न थाल्यो । फेरि उनले ‘त्यस्तो के पर्यो हजुरलाई ?’ भन्दै प्रश्न गरे । त्यो प्रश्नको जवाफ भने ‘कार्की’ले दिएनन् ।
फेरि श्रेष्ठले साथीको नाम के हो ? भनेर सोधे । शिवकुमार भनेर जवाफ आयो । एकछिन उनीहरूबीचको संवाद रोकियो । केही समयपछि श्रेष्ठले ‘आयो सर २५ हजार’ भनेर कन्र्फम हुन खोजे । उताबाट ट्रान्जेक्सनको स्क्रिनसट पठाउन भन्यो । श्रेष्ठले पठाएको दाबी गर्दै खाता चेक गर्न सुझाए । ‘कार्की’ले पैसा नआएको बताए । उनले खाता नम्बर गल्ती भएको होला भनेर पन्छिन खोजे । ‘कार्की’ले अर्को खाता नम्बर पठाए ।
त्यतिबेलासम्म डीएसपी कार्कीले आफ्नो वास्तविक अकाउन्टबाट सबैलाई सचेत गराइसकेका थिए । उनले आफ्नो अधिकारिक फेसबुकमार्फत, “कसैले मेरो नक्कली फेसबुक अकाउन्ट बनाएर मेरा साथीहरूसँग पैसा माग्दैछ भन्ने जानकारी पाएको छु । सजग रहनुहोला, त्यो पैसा माग्ने म होइन ।”
कार्कीका अनुसार त्यतिबेलासम्म त्यो व्यक्तिले उनका चारजना साथीसँग पैसा मागिसकेको थियो । “सबैसँग पहिलो पटककै कुराकानीमा पैसा माग्दा र म्यासेज र अडियो कलमा मात्रै कुरा गर्दा शंका लागेर मलाई मोबाइलमा फोन गरी जानकारी गराएका थिए,” डीएसपी कार्कीले भने, “बैंकको खातामा नभएर गुगल पे र पेटिएममा पठाउन भनेको रहेछ । साथीहरूलाई शंका लागेर मलाई जानकारी गराए ।”
डीएसपी कार्कीले संघीय साइबर ब्युरोमा जानकारी गराएको भन्दै अहिले उक्त एकाउन्ट बन्द भएको जानकारी दिए । प्रहरीको अनुसन्धानबाट भारतीय नागरिकले नेपाली नागरिकको सहयोग लिई यस्तो अपराध गरिरहेको उनको अशंका छ ।
आइतबार साँझ पनि धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पनि आफ्नो नामको फेक फेसबुक एकाउन्ट बनेको जानकारी गराए । प्रहरी उपरीक्षक रानाभाटले आफ्नो आधिकारिक फेसबुकमार्फत साथीहरूलाई सचेत हुन आग्रह गरेका छन् ।
“हिजो मेरो नामको फेसबुक एकाउन्ट बनाएर मैले राखेजस्तै प्रोफाइल फोटो राखेर मेरै साथीहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ,” एसपी रानाभाटले भने, “एक जना साथीसँग २० हजार रुपैयाँ गुगल पे मार्फत मागेको जानकारी पाएँ ।”
एसपी रानाभाटकाअनुसार पहिलोपटक स्थानीय सञ्चारकर्मीसँग नै पैसा मागेकाले धेरैसँग माग्न सकेन । उनको नक्कली आईडीबा सञ्चारर्मी दिपक कर्णसँग पैसा मागिएको थियो । आफ्नो नामबाट बनाइएको ‘फेक एकाउन्ट’ बन्द गराउने प्रक्रिया सुरु भएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
19.43¡ÆC